गोरखा सांस्कृतिक समाजद्धारा विभिन्न श्रष्टा सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ कात्तित

नेपाली कला संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका विभिन्न विधाका व्यक्तित्वहरुलाई गोरखा सांस्कृतिक समाजले सम्मान प्रदान गरेको छ । समाजको दशौं साधारणसभा एवं पाँचौं अधिवेशनको अवसर पारेर जिल्लाकै विभिन्न विधाका व्यक्तित्वलाई सम्मान गरेको हो । गोरखा जिल्लामा जन्मिएर मुलुकको विशिष्ट श्रेणीमा स्थापित हुन सफल संगीतकार आलोकश्रीको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपालको पहिलो गायिका मेलवादेवी गुरुङको नाममा स्थापित ‘मेलवादेवी संगीत सम्मान’बाट वरिष्ठ संगीतकार सुनिल मास्केलाई सम्मान प्रदान गरिएको थियो । त्यस्तै अभिनयकलामा जीवन समर्पण गरेकी अभिनेत्री शान्ति मास्केको नाममा स्थापित ‘शान्ति मास्के कला सम्मान’बाट निर्देशक तथा मोडल प्रकाश भट्टलाई सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै समाजको नाममा स्थापित पत्रकारिता विशेष सम्मानबाट पत्रकार खिलबहादुर भण्डारीलाई सम्मान गरियो । गोरखा सांस्कृतिक समाज स्रष्टा सम्मानबाट गीतकार काजीबाबु अर्याललाई सम्मानित गरियो । त्यसैगरी गोरखा सांस्कृतिक समाज वाद्यवादन सम्मानबाट बाँसुरी तथा सहनाइवादक धनबहादुर गुरुङलाई सम्मान गरियो भने गोरखा सांस्कृतिक समाज पत्रकारिता सम्मानबाट विमल भट्टलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजका दुई सदस्यलाई उत्कृष्ट सदस्यको सम्मान समेत प्रदान गरिएको थियो । गायिका देवी आले र गायक रायन बस्याललाई उत्कृष्ट सदस्यका रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरु प्रकाश भट्ट, संगीतकार सुनिल मास्के, गीतकार काजीबाबु अर्याल, पत्रकार खिलबहादुर भण्डारीले शुभकामना मन्तव्य दिँदै गोरखा सांस्कृतिक समाजले सम्मानयोग्य ठानेकोमा हार्दिक आभार व्यक्त गरेका थिए ।

सो समारोहलाई सम्बोधन गर्दै समाजका पूर्व अध्यक्ष सुमन पण्डित र संस्थापक अध्यक्ष दीपसागर थापाले समाजको स्थापना र संस्थागत विकासको बारेमा उल्लेख गरेका थिए । नयाँ बन्ने कार्यसमितिलाई अग्रीम बधाई दिँदै उनीहरुले गोरखाली एकताको सन्देश समाजले दिन सफल भएको बताए ।