‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ कात्तिक

यही बिहीबार ६ कात्तिकबाट रिलिज हुने नेपाली चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको चलचित्र वरिष्ठ बलरामको अग्रिम बुकिङ सबै मल्टी प्लेक्समा खुला भएको हो । तिहारको विशेष दिन भाइटीकाबाट यो चलचित्र रिलिज हुँदैछ ।

चलचित्रमा दयाहाङ, समृद्धि अर्यालसहित, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) सृजना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ । चलचित्रको बाल कलाकारमा सुजेन थापा र साइसा गौचन रहेका छन् ।

यो चलचित्रले मल्टिप्लेक्ससहितका हलमा चलचित्रले राम्रो शो पाएको छ । नेपाली चलचित्रको बाक्लो रिलिज र बलिउडबाट प्रतिक्षित सिनेमाहरूको भीडमा पनि ‘वरिष्ठ बलराम’ले सन्तोषजनक शो पाएको छ । अग्रिम बुकिङ पनि देखिन थालेको छ ।

‘धेरै चलचित्र रहेकाले सोही अनुसारको शो हाम्रो चलचित्रले पाएको छ,’ निर्देशक सुरेन्द्र पौडेलले ब्युटी न्युज नेपालसँग भने,‘रिलिजपछि हाम्रो चलचित्रको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकी हामीले राम्रो चलचित्र बनाएका छौँ ।’

‘वरिष्ठ बलराम’ले राम्रो वर्ड अफ माउथ पाउनेमा उनी ढुक्क छन् । ट्रेलर र ‘न्यौली बनैमा’ गीत दर्शकले रुचाएकाले चलचित्र पनि त्यस्तै राम्रो रहेको र दर्शकको रोजाइमा पर्ने निर्देशक पौडेलको दाबी छ ।