राजधानी समाचारदाता
काठमाडौँ, ३ कात्तिक
नेपाली चलचित्र ‘जेरी अन टप’ले रिलिज भएको तीन दिन शुक्रवार, शनिवार र आईतबार गरेर नेपालमा २ करोड २१ लाख रुपैयाँको ग्रस व्यापार गरेको छ ।
चलचित्र विकास बोर्डको बक्स अफिस प्रणालीले ‘जेरी अन टप’को ती दिनको व्यापार परिणाम सोमबार सार्वजनिक गरेको हो । यो चलचित्रले रिलिज भएको पहिलो दिन शुक्रवार बक्स अफिसमा ७२ लाख ५९ हजार ४०८ रुपैयाँको ग्रस व्यापार गरेको थियो । पहिलो दिनको व्यापार राम्रो भएपछि दोस्रो दिन शनिवार देशका चलचित्र घरहरूमा सो संख्या पनि ह्वात्तै बढ्यो । यो चलचित्रले शनिवार ८६ लाख ३८ हजार २१० रुपैयाँको ग्रस व्यापार गर्दै दुई दिनमा १ करोड ५८ लाख ९७ हजार ६१८ रुपैयाँ संकलन गरेको हो ।
यस्तै यो चलचित्रले आइतबार ‘अफ डे’मा पनि निकै राम्रो व्यापार गरेको छ । आइतबार यो चलचित्रले नेपालमा ६३ लाख ८४ हजार ८० रुपैयाँको व्यापार गरेको छ । यो तीन दिनमा जेरी अन टपले नेपालबाटै २ करोड २१ लाख रुपैयाँको व्यापार गरिसकेको छ । अहिलेको अवस्थामा यो व्यापार निकै राम्रो हो ।
यो चलचित्र सुयोग गुरुङले निर्देशन गरेको हुन् । सगरमाथा आरोहणको संघर्षमा निर्मित त्रिकोणात्मक प्रेम सम्बन्धको कथा यसमा रहेको छ । यो चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार प्रसाद घिमिरे (माग्ने बुढा), उषा खड्गीलगायतको मुख्य भूमिका रहेको छ ।
यसपालिको दसैंको तुलनामा तिहारमा रिलिज भएको ‘जेरी अन टप’को व्यापार सुखद छ । दसैँमा एकसाथ तीन नेपाली चलचित्र रिलिज हुँदै तीन वटै चलचित्रको व्यापार सोचे भन्दा कम थियो । यसरी जुध्दा सबैभन्दा ठुलो असर चलचित्र ‘बलिदान’लाई प¥यो भने ‘बलिदान’ बक्स अफिसमा फ्लप साबित भयो । बाँकी दुई चलचित्र ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ पहिलो पनि चलचित्र घरमा प्रदर्शन भइरहेको छ । यी तीन चलचित्र र दसैँमा रिलिज भएको भारतीय चलचित्रको व्यापार यहाँ उल्लेख गरिएको छ ।