राजधानी समाचारदाता
काठमाडौँ, २ कात्तिक
तिहारको शुभ अवसरमा नेपाली चलचित्रको गीत संगीतको वर्तमान अवस्थाबारे एस.बि क्रियसन प्रा.लि.ले अन्तरिक्रया तथा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । काठमाडौँमा शनिबार आयोजित सो कार्यक्रममा ‘जेनजी आन्दोलनपछिको चलचित्र, गीत संगीत एवम् मनोरञ्जन क्षेत्रको अवस्था’ शीर्षकको अन्तरक्रिया गरियो ।
गत २३ र २४ भदौमा जेनजी पुस्ताले गरेको अन्दोलनको चलचित्र क्षेत्रमा सबैभन्दा ठुलो असर हल सञ्चालकहरुलाई परेको नेपाल चलचित्र संघका उपाध्यक्ष एवम् वितरक गोपालकाजी कायस्थले बताए । मुलुकका पाँच वटा चलचित्र घरमा जेनजी पुस्ताले गरेको आगजनीका कारण २० करोड भन्दा माथिको प्रत्यक्ष क्षति चलचित्र घर सञ्चालकहरूलाई भएको पनि उनले बताए । जेनजी आन्दोलनपछि चलचित्रको बजार सुस्ताएको उनले बताए । गत वर्षको दसैँको तुलनामा यस पटक दसैमा चलचित्रको व्यापार निकै कम भएको पनि उनले जिकिर गरे ।
अग्रज कलाकार एवम् नाट्यकर्मी हरिहर शर्माले जेनजी पुस्तालाई चलचित्रमा समेट्नु पर्ने बताए । ६ दशकको यात्रामा नेपाली चलचित्र उद्योगले निकै ठुलो फड्को मारेको तर अब समय सापेक्ष चलचित्र बन्नु पर्ने उनले सुझाब दिए । चलचित्रसँगै मोडलिङ, गीत संगीत, फेशन, ब्युटी जस्ता विविध क्षेत्रले पनि फड्को मारेको बताउँदै उनले यी क्षेत्र पनि समय सापेक्ष परिवर्तन हुनु पर्ने उनले बताए ।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले अग्रज अभिनेता एवम् अन्तरक्रियामा बोल्दै यस पटक दसैँमा तीन वटा नेपाली चलचित्र एकसाथ रिलिज हुँदा पनि यि नेपाली चलचित्रले राम्रो व्यापार गर्न नसकेको उनले बताए । जेनजी आन्दोलनपछि नेपाली चलचित्रको बजार केही सुस्ताएको जनाउँदै अहिले पनि नेपालमा विदेशी चलचित्रको दबदबा रहेको र दसैँमा रिलिज भएको तीन नेपाली चलचित्र भन्दा राम्रो व्यापार भारतीय चलचित्रले यस पटक गरेको पनि अभिनेता कृष्ण मल्लले बताए । मौलिक नेपाली चलचित्रको बजार राम्रो भएकाले मौलिक चलचित्र निर्माणमा उनले जोड दिए ।
सहरमा रहेका अहिलेका जेनजी पुस्तामा नेपाली चलचित्र हेर्ने बानी नभएको र उनीहरु हलिउड र कोरियन चलचित्रमा रमाउने गरेको नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीले बताए ।त्यसैले अभिभावकहरूले नै आफ्ना छोराछोरीलाई चलचित्र घरसम्म पु¥याएर नेपाली चलचित्र हेर्ने बानी बसाल्नु पर्ने पनि उनले सुझाव दिए । जेनजी पुस्ताले नेपाली राजनीतिमा मात्र हैन, चलचित्रमा पनि परिवर्तन चाहेको कुरा अब चलचित्रकर्मीहरूले आत्मसात् गर्नु पर्ने अध्यक्ष पराजुलीले सुझाव थियो ।
यस्तै अग्रज ब्युटिसियन सोनी कारंजितले जेनजी आन्दोलनले व्युटिसियन क्षेत्रमा सुरुको हप्ता असर परे पनि त्यसपछि त्यति ठुलो असर नपरेको बताइन् । तर पनि जेनजी पुस्ता सौन्दर्य प्रति निकै चासो राख्ने गरेको उनको कथन थियो । त्यसैले अब जेनजीहरूलाई सौन्दर्य क्षेत्रतर्फ पनि आकर्षित गर्नु पर्ने सुझाब उनले व्युटिसियनहरुलाई दिईन् ।
समारोहमा पहिलो सत्रको अन्तरक्रियापछि तिहारको शुभकामना आदान प्रदानसँगै, सम्मान तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गायक ओम सुनारले गायन र बाल कलाकार स्नेहा बुढाथोकीले नृत्य प्रस्तुत गरेका समारोहलाई संगीतमय तुल्याएका थिए ।
आफ्नो क्षेत्रमा विभिन्न योगदान पु¥याएका व्यक्तित्व तथा सर्जकलाई सो कार्यक्रममा सम्मानित गरियो । यसरी सम्मानित हुनेहरूमा चलचित्रकर्मीबाट निर्माता निर्देशक रोशनी केसी, छायांकार रामशरण उप्रेती, चलचित्र निर्देशक माधवराज खरेल, चलचित्र एवम् फोटो पत्रकार बद्री थापा, गायक नरेश बि बि सी रहेका थिए ।
यस्तै ढाका फेशन व्यवसायी सकुमाया लिम्बु, साहित्यकार शनि लिम्बु, ब्युटिसियनहरू करुणा श्रेष्ठ, मैना श्रेष्ठ, सजना महर्जन, निर कमल प्रधान, अटोमोवाईल उद्यमी मेघबहादुर बुढाथोकी (विदुर), पस्मिना उद्यमी सुरेन्द्र गिरीलगायत सम्मानित भए ।
सो कार्यक्रमलाई चलचित्र पत्रकार जीवन पराजुलीले सञ्चालन गरेका थिए । सो कार्यक्रममा बरिष्ट गायक गणेश थापा, चर्चित गायक डेभिड शंकर नायक प्रवण भुसाल, कोरियोग्राफर कृष्ण रसाल, बरिष्ट पत्रकार गीता अधिकारी, भिडियो सम्पादक, बीरेन्द्र भाट ‘बिपिन’, बरिष्ट ब्युटिसियन रिना अवाले, ब्युटिसियन ट्यालेन्ट नेपालका पूर्व विजेताहरु लिना डंगोल, मनिषा श्रेष्ठ, रनर अप श्वेता काफ्ले मगर श्रेष्ठसहित विभिन्न पत्रकार, कलाकार, ब्युटिसियन एवम् संगीतकर्मीहरुको उपस्थिति थियो ।