ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ असोज
अभिनेता अनमोल केसीको महत्वकांक्षी चलचित्र ‘जेरी अन टप’ आज शुक्रबारबाट मुलुकका १५० भन्दा बढी चलचित्र घरमा रिलिज भएको छ । फिल्म ‘जेरीः अन टप’ अनमोल केसी, भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् ।
यो चलचित्रले आज पहिलो दिन असोज ३१ गते नेपालभर २०५ शो प्राप्त गरेको यस चलचित्रका वितरक करण श्रेष्ठ क्रेजीले जानकारी गराएका छन् । उनका अनुसार दर्शकको भिड हेर्दा आजै साँझसम्म केही सोजहरु थपिन सक्नेछन् ।
जेरी अन टपको बुकिङ राम्रो भएकै कारण यसको ओपनिङ राम्रो छ । बिहान ११ बजेको सोमा मुलुकका एक तिहाई सो सँख्या हाउसफुल भएको पनि करणले जानकारी गराए ।
यो चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ । यसलाई सबैले हेर्न पाउने छन् । चलचित्र ‘जेरी अन टप’ को लम्बाई दुई घण्टा ५४ मिनेट ५७ सेकेन्डको भए पनि दर्शकले चलचित्र हेरेर कतै पनि लामो नभएको जस्तो लागेको प्रतिक्रिया दिएको पनि वितरक करणले बताएका छन् । यो पछिल्लो समय सर्वाधिक लम्बाई भएको नेपाली फिल्मको रुपमा यो परेको छ ।
‘जेरी अन टप’ लाई सुयोग गुरूङले निर्देशन गरेका छन् । यस फिल्ममा हेमराज विसीले कथा लेख्न, विश्वास तिम्सिनाले पटकथा लेख्न र दुलिप रेग्मीले छायांकन गरेका छन् । यो फिल्मलाई रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् । अनन्या फिल्म्स प्रोडक्सनबाट यो चलचित्र निर्माण भएको हो ।