चार कलाकारसहित विभिन्न व्यक्ति बिरुद्ध प्रहरीमा जाहेरी किटानी


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ असोज

चलचित्र निर्देशक एवम् कलाकार निश्चल बस्नेत, अभिनेता संजोग कोईराला, अभिनेत्री रिमा विश्वकर्मा, कमेडियन हिमेश पन्त, सहित विभिन्न व्यक्तिहरु बिरुद्ध आज प्रहरीमा किटानी जाहेरी परेको छ । गत भदौ २४ मा जेनजी पुस्ताको आन्दोलनमा भएको आगजनी, हत्या, लुटपाटसहित विभिन्न फैजदारी अभियोगमा उनीहरु बिरुद्ध प्रहरीमा उजुरी परेको हो ।

प्रमाणका रूपमा विभिन्न स्थानमा जलाउन, तोडफोड गर्न लगाएको भन्दै विभिन्न सञ्चारमाध्यमबाट संकलित फोटो तथा भिडिओहरू प्रमाणका रूपमा जाहेरीवालाले प्रहरी समक्ष पेस गरेका छन् ।

प्रहरी श्रोतका अनुसार अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा पुगेर आज जाहेरी दिएका छुन् । उनीहरुले जाहेरीमा राज्यविरुद्धको कसुर, आतंकवाद विरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजानासम्बन्धी कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुरलमा यी व्यक्तिहरुलाई हदैसम्मको कानूनी कारवाही हुनु पर्ने माग गरेका छन् ।

जाहेर किटानीमा कारवाहीको लागि यी तीन कलाकारसहित काठमाडौंका मेयर बालेन साह, हामी नेपालका संस्थापक तथा आफूलाई जेनजी आन्दोलनका अभियान्ता भन्ने सुधन गुरुङ, युट्युवरहरु भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, भोजराज थापा, रास्वपा नेतृ ज्वाला संग्रौला,पूर्व मन्त्री सुमना श्रेष्ठ, तनुजा पाण्डे, पत्रकार राजीव खत्री, जेन्जीका अगुवा मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, केपी खनाल, टिकटकर मनोज के.सी., युजन राजभण्डारी, रामकुमार खड्कालगायतलाई माग गरिएको छ ।