ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ असोज
नेपाली ‘जेरीः अन टप’को तेस्रो गीत ‘आमैले भन्थे’ को भिडियो दसैँको अवसर पारेर सार्वजनिक गरिएको छ । यो गीतलाई दोस्रो पटक रिमेक गरेर यो चलचित्रमा राखिएको हो । चलचित्र साईनोमा पहिलो पटक साखिएको यो गीतलाई यस अघि चलचित्र झमकबहादुरमा ओम सुनारको स्वरमा रिमेक गरेर राखिएको थियो । त्यसपछि फेरी रिमेक गरेर यही गीतलाई यति बेला जेरी अन टपमा राखिएको हो ।
यसपटक जेरी अन टपमा यो गीतको स्थायी अर्थात हुक लाईन मात्र राखिएको छ । गीतमा अन्तरा भने बिराज गौतम र व्रिजेश श्रेष्ठले लेखेको शब्दलाई राखिएको छ । गीतको हुक लाईन बाहेकको अन्तराको संगीत पनि विराज र व्रिजेशले नै गरेको छ । डान्सिङ बिटमा तयार पारिएको यो गीतमा विराज गौतमसँगै, राजेश पायल राई र अनु ढकालको स्वर रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा यो चलचित्रको मुख्य कलाकारहरू अनमोल केसी, भुवन केसी, आँचल शर्मा, केदार प्रसाद घिमिरे, उषा खडगीको नृत्य रहेको छ । चलचित्रको मुख्य पात्र जेरी (अनमोल)लाई सगरमाथा आरोहणको अवसरमा बधाई दिन आयोजना गरिएको पार्टीमा यो गीत गाउँदै यी कलाकार नाचेको दृष्य भिडियोमा समेटिएको छ ।
डान्सिङ नम्बरमा तयार भएको यो गीतको भिडियोमा अनमोल र आँचलले नृत्य आकर्षक छ । नृत्यमा अनमोलले यसपटक राम्रै मेहनत गरेका छन् । केदार प्रसाद घिमिरे (माग्ने बुढा)को पनि नृत्य गीतको भिडियोमा छ ।
यो चलचित्रको निर्मातामा भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी, अनन्या न्यौपाने छन् । फिल्ममा अनिरुद्र गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता हुन् । सुयोग गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।
विश्वास तिम्सिनाको पटकथा रहेको यो फिल्ममा नविन घिमिरे र विवेक थापा एसोसियट निर्माता, मोती कार्की क्रियटिभ निर्माता छन् । सरोज न्यौपानेको प्रस्तुतिमा अनन्या फिल्मस्को व्यानरमा यो फिल्म निर्माण भएको हो । फिल्ममा जसिता गुरुङ, निर्मल शर्मा लगायतका कलाकारहरूको पनि अभिनय छ ।