‘माइतीघर’को गीतमा नाचेर यी हुन् ५ लाख रुपैयाँ जित्ने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ असोज

फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’ले रिलिज अघि सो चलचित्रको शीर्ष गीत नृत्य प्रतियोगिता आयोजना गरेको थियो । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आयोजना गरिएको भिडियो प्रतियोगीताका विजेताको नाम घोषणा गरिएको छ ।

फिल्ममा नै विजेताको भिडियो समावेश गरिएको छ । यो गीतमा भिडियो तयार पारेका हजार भन्दा बढीबाट २ जनालाई विजेता घोषणा गरिएको हो । निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेता छनोट गरेका हुन् । जसमा, दुवै जना विजेता बुटवलका छन् ।

बुटवलका सुरज सिंजाली मगर र वुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरुको समुहले भिडियो प्रतियोगीता जितेका छन् । दुई जना विजेताले समान अंक ल्याएका कारण दुवै जनालाई विजेता घोषणा गरिएको निर्माणपक्षले बताएको छ ।

विजेतालाई ५ लाख नगद पुरस्कार दिने घोषणा यसको निर्माणपक्षले गरेको थियो । निर्माता अधिकारीले भने–‘यसपटक सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरुको प्रतिस्पधाई निकै नै कडा भयो । यसैले, निर्णायक कविराज गहतराजले दुवैलाई विजेता घोषणा गर्नुभएको छ । अब, हामी दुवै समुहलाई जनही साढे २ लाख पुरस्कार दिनेछौं ।’

चलचित्र माइतीघरले अहिले दर्शकहरुको राम्रो साथ पाइरहेको छ । रिलिजको पहिलो दिनबाट नै हलमा दर्शकको उच्च चापका साथ व्यापार गरिरहेको फिल्मले बलियो वर्ड अफ माउथ पनि पाएको छ ।

मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ । बलियो वर्ड अफ माउथका कारण फिल्मको व्यापार सुखद रुपमा अगाडि बढिरहेको छ । निर्माणपक्षले व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन ।