दर्शकले मन पराए चलचित्र माइतीघर, दोस्रो दिन व्यापार बढ्यो


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ असोज

बडा दसैँको अवसरमा फूलपातीको दिन रिलिज भएको नेपाली चलचित्र ‘माइतीघर’ले राम्रो व्यापार गरिरहेको छ । यो चलचित्रको पहिलो भन्दा दोस्रो दिन व्यापार र शोजहरु दुबै बढेको छ । यो सँगै रिलिज भएको अर्को सन्तोष सेनको महत्वकांक्षी चलचित्र बलिदानको शोज र व्यापार दुबै घटेको बेला मिलन तामाङको चलचित्र माइतीघरको व्यापार बढेको छ । यो चलचित्र बिस्तारै माथि उक्लँदै छ ।

पहिलो दिन चलचित्र १८ लाख ९६ हजार ४५५ रुपैयाँको व्यापार गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ । दोस्रो दिन मंगलबार यो चलचित्रको व्यापार बढेर १९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यसरी माइतीघरले दुई दिनमा चलचित्र घरमा ३८ लाख ६३ हजार रुपैयाँको ग्रस व्यापार गरेको छ ।

धिरज मगर, उपासना सिंह ठकुरी, केदार घिमिरे (माग्ने बुढा) प्रकाश सपुत, बुद्धी तामाङ, श्यामा श्री शेर्पालगायतको मुख्य भूमिका रहेको चलचित्र माइतीघरमा पारिवारिक दर्शकहरुको भिड चलचित्र घरमा देखिएको छ । यो चलचित्रले बिस्तारै दर्शकलाई हलतर्फ तानिरहेको छ ।

तामाङ संस्कृतिमा केन्द्रित यो चलचित्रले मंगलबार १३० शोज पाएको बक्स अफिस रिपोर्टमा उल्लेख छ । रोहित अधिकारी निर्मित यो चलचित्रको शीर्ष गीतले अहिले दर्शकको मन जितिरहेको छ । आसा गरौँ माइतीघरको भोली टिकाको दिन व्यापार निकै राम्रो हुनेछ ।