ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ असोज
दसैँको फूलपातीदेखि प्रदर्शनमा तीन चलचित्र बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको दोस्रो दिनसम्मको व्यापार हेर्दा बलिदान दोस्रो दिनबाटै तल झरेको छ । दसैँको महत्वपूर्ण पर्व मानिएको अस्टमीको दिन यो चलचित्रको व्यापार घरेलु बक्सअफिसमा अपेक्षाभन्दा न्यून देखिन थालेको छ । यो चलचित्रलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । एक्सन जनरा मन पराउने दर्शकको मात्र हलमा अहिले उपस्थित देखिएको छ ।
यो चलचित्रले पहिलो दिन सोमबार फूलपातीको दिन मुलुकमा २४४ शोज यो चलचित्रले पाएको थियो । जसबाट पहिलो दिन ५७ लाख १९ हजार ३४० रुपैयाँको व्यापार गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ । तर दोस्रो दिनसम्म आई पुग्दा अस्टमी जस्तो महान पर्वमा चलचित्र बलिदानको ३१ शो घटेको छ । यो चलचित्र पहिलो दिन २४४ शोजमा प्रदर्शन भएको थियो भने दोस्रो दिन सो घटेर २१३ मा पुगेको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।
मंगलबार दोस्रो दिन बलिदानको बक्स अफिसमा जम्मा ४८ लाख ४६ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ । जम्मा दुई दिनमा यो चलचित्रले १ करोड ५ लाख रुपैयाँको व्यापार गरेको छ । लगानीको तुलनामा यो चलचित्रको दुई दिनको कमाई निकै न्युन हो । किनकी यो चलचित्र ६ करोड २५ लाखमा निर्माण भएको हो । त्यो लागत उठाउन १४ करोड भन्दा बढी रुपैयाँ कमाउनु पर्ने देखिन्छ ।
बुधबार २१३ शोजमा प्रदर्शन भईरहेको यो चलचित्रको भोली टिकाको दिनबाट करिब ३५ प्रतिसत शोजहरु नेपालका चलचित्र घरमा घट्दैछ । भारतीय चलचित्र कन्तरा च्याप्टर वान रिलिज हुने हुँदा यसको सबैभन्दा ठुलो असर बलिदानलाई पर्ने भएको छ । यो चलचित्रले बलिदानको कम्तीमा ३५ प्रतिसत शोजहरु खोस्ने वितरकहरु बताउँछन् ।
चलचित्र बलिदानमा समीर भट्टको अभिनय र एक्सनले निकै प्रशंसा पाएको छ । बलिदानको कथा र स्क्रिप्ट निकै फित्तलो देखिएको छ । यो चलचित्रको स्क्रिप्ट हेर्दा अब मनोज पण्डितले स्क्रिप्ट डक्टरबाट सन्यास लिए हुन्छन् । यो भन्दा राम्रो स्क्रिप्ट त सन्तोष सेन आफैँले तयार गर्ने देखिन्छ ।
चलचित्रलाई चलाउन कलाकार र निर्माण पक्षको प्रयास जारी छ । चलचित्रमा अनुबन्धित भएपछि रिलिजको दुई दिन अघिसम्म मिडियामा नआएका समीर भट्ट अहिले दैनिक घन्टा घन्टामा चलचित्र घरमा दर्शकलाई भेट्न पुगेका छन् । प्रचार प्रसारमा निकै पछाडि रहेको बलिदान चलचित्र चलाउन अभिनय मात्र हैन, दर्शकसँग पनि साक्षात्कार गर्नु पर्छ भन्ने महसुस अभिनेता समीरलाई अहिले भएको छ । उनको यो प्रयासको प्रशँसा गर्नु पर्छ ।
नेपाली चलचित्रको सबैभन्दा ठुलो व्यापार हुने दशैँको टिकाको दिन बलिदानको व्यापार कस्तो रहन्छन् । त्यसको मूल्याँकन भोली नै गरौँला ।