चलचित्र सोल्टिनीको टिजर प्रकाश र परीक्षाको प्रेम


ब्युटी न्युज नेपाल
काठमाडौं, २ असोज

आगामी भाइटिकाको असवर पारेर ६ कात्तिकमा रिलिज गर्न लागिएको नेपाली चलचित्र ‘सोल्टिनी’को टिजर बिहीबार सार्वजनिक गरिएको छ । ग्रामिण जीवन शैली र प्रेम कथामा निर्मित यस चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबिचको सम्बन्ध देखाईएको छ । टिजरमा ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक संघर्षको आरोह अवारोह समेटिएको छ ।

यो चलिचित्रमा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् ।

चलचित्रको कार्यकारी निर्माताको रूपमा ’हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ रहेको छ । चलचित्रलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् भने सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्। चलचित्र नेपालभर टि फल्क्स फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

यो चलचित्रको गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। कथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ । इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा छायाङ्कन गरिएको ‘सोल्टिनी’मा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने सन्देश समेटिएको निर्देशक सुवेदीले दाबी गरेका छन्। दुई प्रमुख पात्रबीचको प्रेमकथा यसकै मुख्य आकर्षण रहेको बताइएको छ।