सहिद जेनजी प्रति मिसेस् नेपाल वर्ल्ड २०२५ का प्रतियोगीको श्रद्धा सुमन


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० भदौ

यस पटक जेनजी समूहको आन्दोलनमा मुलुकमा ७२ जनाको ज्यान गइसकेको छ । केही अस्पतालमा उपचारको क्रममा अहिले पनि गम्भीर अवस्थामा छन् । यो आन्दोलनमा दिवङ्गत भएका ७२ मध्य ६ कैदी र चोर गर्न गएका ६ सर्वसाधारण पनि छन् । जसमा एक हजार भन्दा बढी घाइते भएका छन् ।

यसै क्रममा मिसेस् नेपाल वर्ल्ड २०२५ का प्रतियोगीहरू तथा आयोजक संस्था रिवन इन्टरटेनमेन्ट टिमले सोमबार बेलुका काठमाडौँको बानेश्वर स्थित जलेको अवस्थामा रहेको संसद् भवनको बाहिर दीप प्रज्वलन गरेको छ । जेनजी आन्दोलनमा सहिद भएकाहरूको आत्माको चीर शान्तिको कामना गर्दै प्रतियोगी तथा आयोजक टिमले मैनबत्ती पालेर श्रद्धाञ्जली अर्पण गर्‍यो । नेपालको झन्डा बनाएर त्यसमा मैनबत्ती बाल्दै उनीहरूले नेपालमा अब दिगो शान्तिको कामना पनि गरे । सो कार्यक्रममा उनीहरूले आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे । यी प्रतियोगी मध्य केहीले आजको श्रद्धाञ्जली कार्यक्रममा दिवङ्गत प्रति श्रद्धा सुमन अर्पण गर्दै आफ्ना भनाई पनि राखे ।

मिसेस् नेपाल वर्ल्ड २०२५ मा यस पटक अन्तिम प्रतिस्पर्धीको रूपमा ३० जना चयन भएका छन् । जसमा चितवनबाट सञ्जु भट्ट, झापाबाट करुणा श्रेष्ठ, खोटाङबाट इमायुङ राई, सुझाता खनाल, रोजी थापा र चन्द्रकला राई, सर्लाहीबाट कञ्चन झा, ललितपुरबाट श्रीनी ढक्वा, रविना महर्जन, कल्पना विष्ट, कुसुम खड्का र सिर्जना विष्ट, विराटनगरबाट पूजन ढकाल, सिन्धुलीकी रञ्जना बुढाथोकी, काभ्रेपलान्चोकबाट अरुणा लामा, नेपालगञ्जबाट एलीना केसी, सुदूरपश्चिमबाट विद्या चौहान, रामेछापबाट निर्मला सुनुवार, लुम्बिनीबाट तारा खनाल र रक्षा पन्त, ईटहरीबाट दीपिका तामाङ, तेह्रथुमबाट सुम्निमा खापुङ, कीर्तिपुरबाट बिनिता अधिकारी, नवलपरासीबाट गंगा लामिछाने, स्याङ्जाबाट बिष्णु भण्डारी, मकवानपुरबाट सरस्वती विश्वकर्मा, काठमाडौँबाट सजनी जोशी, सुमिना महर्जन र बिष्णु तिमिल्सिना, भक्तपुरबाट सुभाना रोक्का, रहेका छन् ।

जेनजी आन्दोलनसँगै गत सोमबार २४ भदौबाट यो प्रतियोगिताको प्रतियोगीहरूको प्रशिक्षण रोकिएको थियो । सो प्रशिक्षण मंगलबारबाट सुरु गरिने आयोजक पक्षले जनाएको छ । प्रतियोगिताको फाइनल आगामी २८ असोजमा हुने भनिएकोमा जेनजी आन्दोलन र दसैँ तिहार जस्ता पर्वको कारण अब केही दिन पछि नयाँ मिति तय गरेर मिसेस् नेपाल वर्ल्डको ग्रान्ड फिनाले गर्ने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताएका छन् । यो प्रतियोगिताको अफिसियल कोरियोग्राफरमा अश्विनी कान्त झा रहेका छन् ।