१९ जना जेनजीको ज्यान लिएपछि सरकारले खोल्यो सामाजिक सञ्जाल


काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटेर सामाजिक सञ्जाल ७ दिन भित्र खुला नगरे आफूहरु सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री ओली सामाजिक सञ्जाल खुला गर्न बाध्य भएको समाचार सुत्रले जनायो ।

…………………………..

सरिता भारती, ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ भदौ

सोमबार दिनभर भएको जेनजी पुस्ताको आन्दोलनमा सरकार पक्षले १९ जनाको ज्यान लियो । यसलाई सबैले कालो दिनको रुपमा लिएका छन् । यसरी ठुलो संख्यामा जेनजी पुस्ताको नरसंहार र धेरै घाइते भएपछि सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध सोमबार बेलुका १० बजे पछिबाट हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने माग गर्दा पनि प्रधानमन्त्री ओली मानेका थिएनन् । तर पछि काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटेर सामाजिक सञ्जाल ७ दिन भित्र खुला नगरे आफूहरु सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री ओली सामाजिक सञ्जाल खुला गर्न बाध्य भएको समाचार सुत्रले जनायो ।

तर पनि सोमबार बेलुका ओलीले एक बक्तब्य जारी गर्दै अझै यसलाई नियमत गर्ने चेतावनी दिएका छन् । सरकारले बन्द गरेको सामाजिक सञ्जाल भिपिन (भर्चुवल पर्सनल नेटवर्क)बाट मुलुकका ६० प्रतिसत भन्दा बढीले चलाएपछि सरकारको प्रतिवन्ध असफल हुँदै गएको थियो ।

प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालमा भ्रस्टाचार चरम हुने गरेको भन्दै राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काए पछि प्रधानमन्त्री ओली तिर्मिराएका थिए । उनले मन्त्री परिषदको बैठकमा यो कुरालाई लिएर आक्रोस समेत पोखेका थिए । एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नै नगर्ने बताएको छ ।

यति ठुलो जनको क्षती पछि सत्ता पक्षकै नेताहरु देखि विपक्षी पार्टीहरुले प्रधानमन्त्री ओलीको राजिनामाको माग गरिरहेका छन् । तर ओलीले राजिनामा नदिने सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए । यसको केही घन्टा अघि नै गृहमन्त्री रमेश लेखकले घटनाको जिम्मेवारी लिँदै पदबाट राजिनामा दिएका छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।

तस्बिर : सरिता भारती