ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ भदौ
काठमाडौँको संसद भवन अघि प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ ।सरकारले २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि जेनजी युवाहरूले आन्दोलन थालेका हुन् । सो आन्दोलनले सोमबार दिउँसोसम्ममा हिंसात्मक स्वरुप लिइसकेको छ । उपचारको क्रममा ६ जनाको मृत्यु भएको हो ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । एक जनाको सिभिल अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो ।
अहिलेसम्म घाइतेहुनेको सँख्या १२७ जना भन्दा बढी पुगेको छ । मिनभवनमा रहेको सिभिल अस्पतालमा उपचार गर्ने ठाउँ नभएपछि बाँकी घाईतेलाई वीर अस्पतालको ट्रमा सेन्टर, केएमसी अस्पतालमा पठाईएको छ ।
सो क्षेत्रमा प्रहरीले अहिले पनि अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरिरहेको छ । जेनजी पुस्ता प्रहरीको दमनले थप आक्रोसित भएका छन् । जसका कारण अहिले बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । काठमाडौँमा कफ्र्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कफ्र्यू लगाइएको छ ।
यता जेनजीको आन्दोलन काठमाडौँ बाहिर पनि चर्केको छ । काठमाडौँ बाहिर चितवन, पोखरा, बुटबल, धरान, बिराटनगर, नेपालगञ्ज, झापालगायतका क्षेत्रमा पनि जेनजी समुहले आन्दोलन बढाएका छन् । काठमाडौँबाट सुरु भएको जेनजी समुहको आन्दोलन बिस्तारै देशका विभिन्न सहरमा फैलिएको छ ।