ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ भदौ
चलचित्र ‘जारी’को सर्वाधिक सफलतापछि यसका लेखक निर्देशक उपेन्द्र सुब्बाले नयाँ चलचित्र ‘जारी–२’ निर्माण गरेका छन् । यो चलचित्र संविधान दिवसको अवसर पारेर आगामी ३ असोजबाट नेपालमा रिलिज हुने भएको छ । चलचित्र ‘जारी–२को रिलिज मिति नजिकिँदै गर्दा यसको नयाँ गीत रिलिज गरिएको छ । यो चलचित्रको ’अम्लारी…’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोलाई सेमी लिरिकल भर्सनमा तयार गरिएको छ ।
सुसान्त गौतम अफिसियलको संगीत रहेको यो गीतलाई सुस्मा सिग्देलले लेखेकी हुन् । यो गीत पालम भाकामा तयार गरिएको छ । पालमबाट सुरु भएको यो गीतलाई पछिल्लो अन्तरामा ख्याली लयमा तयार गरिएको छ भने गीतका अन्त्यमा यासेली योङहाङको स्वरमा हाक्पारे आलाप राखिएको छ ।
यो गीतमा दयाहाङले पालममा लय हालेका छन् । गीतमा अभिज्ञा घिमिरेको स्वर निकै आधुर्य छ । अभिज्ञासँगै विकास लिम्बुको यो गीतमा स्वर रहेको छ ।
उपेन्द्र सुब्बा सिनेमाका लेखक तथा निर्देशक हुन् । फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
चलचित्र जारी २ मा दयाहा, मिरुना तथा विजयसँगै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ ।