‘माइतीघर’को ‘नृत्य प्रतियोगीता’मा उत्साहजनक सहभागिता


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ भदौ

फिल्म ‘माइतीघर’को शिर्ष गीतको नृत्य प्रतियोगीतामा दर्शकहरुको उत्साहजनक सहभागीता भइरहेको छ । सोमबारबाट सुरु भएको यो प्रतियोगीताका विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । असोजको १२ गतेसम्म यो प्रतियोगीता जारी रहने निर्माणपक्षले बताएको छ ।

केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।

निर्माता रोहित अधिकारी भन्छन्–‘दर्शकहरुले २४ घन्टा पनि नवित्दै यति धेरै भिडियो बनाएर पठाउनुभएको छ कि, हामी आफै अचम्मित परेका छौं । दर्शकहरुको यो सहभागीताले हामीलाई निकै नै उत्साहित बनाएको छ । २४ घन्टा नवित्दै ओएसआर डिजिटलको विभिन्न सामाजिक प्लेटफर्ममा १५–२० लाख भ्यूज आइसकेको छ ।’

रोहितले दर्शकहरुको यो उत्साहले आफूहरुलाई अझै उर्जा थपिएको बताए । सुरुवातमा यसको निर्माणपक्षले यो भिडियो प्रतियोगीतामा प्रथम हुनेलाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो । तर, अब दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कार दिने बताइएको छ । साथै, सहभागीता जनाउनेहरुको पनि हात खाली नहुने रोहितले जानकारी दिए ।

सञ्जिवनीको स्वरमा समावेश यो गीत सार्वजनिक भएसँगै चर्चामा छ । यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको नृत्य गरेर भिडियो बनाउनेहरुमध्येबाट एक जनालाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरिएको हो । गीतको भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन छ । फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ ।

रोहित भन्छन्–‘कतिपय भिडियोहरुमा त दर्शकको मिहिनेत देखेर हामी आफै छक्क छौं । दर्शकहरुले भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर नै बाँकी राख्नु भएको छैन ।’

 असोजको १३ गते फूलपातीबाट रिलिजमा आउन लागेको फिल्ममा चन्द्रकुमार दोङको कथा रहेको छ । रामशरण पाठकको पटकथा तथा संवाद छ । रबिन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।