डेनमार्कमा नेपथ्यको कन्सर्टमा नाचे हजारौँ नेपाली


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ भदौ

बिगत एक महिनादेखि युरोप यात्रामा रहेको नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्यले डेनमार्कको राजधानी कोपनहेगनमा हजरौँ नेपाली दर्शकलाई आफ्नो गीत संगीतले मन्त्रमुग्ध पारेको छ । नेपथ्यको यो भव्य कन्सर्टमा नेपालीहरु दुई घन्टासम्म नाचे । यो कन्सर्टमा डेनमार्कका मात्र नभई फिनल्याण्ड, जर्मनी, नर्वे, अष्ट्रिया, पोल्याण्ड, स्विडेन र बेल्जियमदेखि दर्शक समेत पुगेर संगीतमा रमाए ।

युरोपमा औद्योगिक युगको पुरानो वैभव संझाउने डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो पुलेन हलमा शनिबार दर्शकको उच्च साथमा नेपथ्यले आफ्ना चर्चित गीतहरुबाट मन्त्रमुग्ध बनाएको हो । व्याण्डका मुख्य गायक अमृत गुरुङले कन्सर्टको पहिलो गीत ‘कोशीको पानी’ सुनाउँदै गर्दा हलभरी दर्शकको चर्को आवाजमा हुटिङ सुनिएको थियो । दर्शकले २ घन्टासम्म नेपथ्य व्याण्डलाई साथ दिएका थिए । डेनमार्कमा नेपथ्यले नौ वर्षपछि आफूलाई उभ्याएको हो ।

नेपाली राजदुत सुम्निमा तुलाधरले यो कन्सर्ट मात्र नभएर नेपाली उत्सव समेत बनेको प्रतिक्रिया दिएकी छिन् । यो कार्यक्रमलाई नेको इभेन्ट्सको व्यवस्थापनमा आयोजना गरिएको हो । व्याण्डका मुख्य गायक अमृत गुरुङले गीत गाउँदै दर्शकसँग संवाद गरेका थिए । अमृतले विदेशमा बसेका नेपाली एकजुट हुनुपर्ने सन्देश समेत कन्सर्टमा दिएका थिए । व्याण्डले आफ्ना चर्चित गीतहरु मार्फत दर्शकलाई झुमाएको थियो ।

‘रातो र चन्द्र सुर्जे’ गीत गाएपछि व्याण्डले दर्शकसँग बिदा मागेको थियो । कन्सर्टमा अमृतलाई ड्रम सेटमा धु्रव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए । नेको इभेन्ट्का पवन पाण्डेले भय रुपमा कन्सर्ट सम्पन्न भएपछि भने–‘यो लामो समयदेखिको प्रयासमा सफल भएको कार्यक्रम हो । एकातिर सपना पुरा भएको छ भने अर्कोतिर दर्शक रमाएर फर्किएको देख्दा खुशी लागेको छ ।’ नेको इभेन्टस्ले सन् २०१४ देखि डेनमार्कमा बसोबास गर्ने नेपाली समुदायका लागि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ । नेको इभेन्ट्सले डेनमार्कमा बसोबास गर्ने नेपालीहरुका लागि सांस्कृतिक र सामाजिक गतिविधिहरु मार्फत एकताको भावना कायम राख्न महत्वपूर्ण योगदान पनि दिदै आइरहेको छ ।