ब्युटी न्युज नेपाल
काठमाडौ, १२ भदौ
‘पूर्णबहादुरको सारंगी’को अपार सफलतापछि सो चलचित्रका निर्देशक सरोज पौडेलको अर्को चलचित्र ‘कोशेढुंगा’ आज बिहीवारबाट देशभरका चलचित्र घरमा रिलिज भएको छ । नेपालसँगै यो चलचित्र विभिन्न ४१ देशमा समेत प्रदर्शन हुँदैछ । नेपालमा भने यो चलचित्र सबै जसो चलचित्र घरमा रिलिज भएको छ ।
चलचित्र रिलिजको पूर्व सन्ध्या पारेर हिजो बुधबार बेलुका यो चलचित्रको काठमाडौँमा भव्य प्रिमियर सो आयोजना गरियो । यो चलचित्र हेरेपछि धेरैले आँसु थाम्न सकेनन् । प्रिमियरमा सबैले यो चलचित्रको खुलेर तारिफ गरे ।
यो चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतम, दिनेश काफ्ले लगायतका कलाकारहरूको मुख्य भूमिका छ । चलचित्र कोशेढुंगा निकै मार्मिक बनेको सो समारोहमा विभिन्न कलाकारहरुले बताए ।
अहिले यो चलचित्रको गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ…’ गीत निकै चर्चामा छ । गीत र यसको ट्रेलरले पाएको चर्चाका कारण आफ्नो चलचित्रलाई दर्शकले रुचाउने विश्वास निर्माण पक्षको रहेको छ ।
चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ अझ ससक्त चलचित्र बनाएको बताएका छन् । यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । पौडेललाई लेखनमा सुनिल निउरे र सुबोलमणि सापकोटाले साथ दिएका छन् । बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष् अविरल र रिदम कँडेलको संगीत छ ।
यसको कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् । नरदेवी फिल्म्स र सारंगी फिल्म्सले निर्माणमा सहकार्य गरेको यो चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन् ।