राजधानी समाचारदाता
काठमाडौँ, ११ भदौ
नेपाली चलचित्र ‘कोशेढुंगा’ भोली भदौ १२ बाट नेपाल सहित ४१ देशमा रिलिज हुँदैछ । यो चलचित्रको रिलिज अघि बुधबार बिहान मात्र सेन्सर कार्य सम्पन्न भएको छ ।
आफ्नो चलचित्रले केन्द्रिय जाँचपास समितिबाट सबैले हेर्न मिल्ने गरी यु अर्थात ‘युनिभर्सल’ प्रमाणपत्र पाएको यसका निर्माता किशोर अनुरागले ब्युटी न्युज नेपाललाई जानकारी गराएका छन् ।
यो चलचित्रलाई सेभेन सिज इन्टरनेशनलले निर्माण गरेको हो । चलचित्रको कार्यकारी निर्माता दिनेश खड्का हुन् । यसलाई सरोज पौडेलले निर्देशन गरेका छन् । २०८१ सालमा रिलिज भएको ऐतिहाँसिक व्यापार गर्न सफल कीर्तिमानी चलचित्र ‘पूर्णबहादुरको सारंगी’को सफलता पछि सरोज पौडेलले ‘कोशेढुंगा’ को निर्देशन गरेका हुन् । आफ्नो अघिल्लो चलचित्र भन्दा यो चलचित्र अझ प्रभावशाली भएको सरोजले बताएका छन् ।
यो चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, दिनेश काफ्ले, ऋचा शर्मा, हिउँवाला गौतमलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
नरदेवी फिल्म्स र सारंगी फिल्म्सले निर्माणमा सहकार्य गरेको यो चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन् ।
बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष् अविरल र रिदम कँडेलको संगीत छ । यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । पौडेललाई लेखनमा सुनिल निउरे र सुबोलमणि सापकोटाले साथ दिएका छन् ।