ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ भदौ
भूत प्रेतले दु्ःख दिने रोचक कथामाथि नयाँ नेपाली चलचित्र ‘महादशा’ निर्माण हुने भएको छ । यो चलचित्रको बुधबार काठमाडौँमा एस समारोहबिच नाम घोषणा र प्रि–टिजर सार्वजनिक गरिएको छ ।
लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको प्रि–टिजर बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘महादशा’को प्रि–टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी पछि दिइनेछ।
थुप्रै चलचित्र निर्माण गरेका निर्माता किरण नेपालीले यो चलचित्रबाट निर्देशन यात्रा सुरु गर्दैछन् । मनिष गौतमले लेखेको फिल्ममा राजे के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।
प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौलागाई रहेको फिल्मको प्रदर्शन मिति भने छायांकन पूरा भएपछि मात्र घोषणा गरिनेछ । ‘महादशा’ले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षले जनाएको छ।