ब्युटी न्युज नेपाल
काठमाडौँ, १० भदौ
तीजलाई लक्षित गरेर गएको शुक्रबारबाट रिलिजमा आएको नेपाली चलचित्र ‘माग्ने राजा’ले आज मंगलबार हरितालिका तीजको दिन देशभर बम्पर ब्यापार गरेको छ । आज देशका अधिकाँस चलचित्र घरहरुका अनलाईन बक्स अफिस पुरै राताम्मे देखिएका छन् । आज मंगलबार मात्र आफ्नो चलचित्रले एक करोड हाराहारीमा व्यापार गरेको यसका वितरक रोहित कट्टेलले ब्युटी न्युज नेपाललाई जानकारी गराएका छन् ।
हुन पनि माग्ने राजाले आज बिहानैदेखि आक्रामक व्यापार गरिरहेको थियो । मध्यान्न पछि साँझसम्मका सोहरु अग्रिम हाउसफूल भए । जसबाट निर्माण पक्ष निकै खुसी देखिएका छन् । तीजको बिदाको सदुपयोग यो सिनेमाले भरपूर रुपमा गरेको देखियो ।
यो चलचित्रको मुख्य अभिनेता केदार प्रसाद घिमिरे (माग्ने बुढा)ले समेत देशभर हाउसफूल भएको बुकिङ रिपोर्टहरु आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै आज दिउँसोबाट हलमा टिकट पाउन गाह्रो भएको भन्दै सामाजिक संजालमा पोष्ट गरे । साँझ कतीपय दर्शकहरु टिकट नपाएर घर फर्किएको पनि देखियो ।
यो चलचित्रले शुक्रबार दिउँसोबाट उत्साहजनक ब्यापार सुरु गरेकोमा शनिबार आक्रामक व्यापार गरेको थियो । आइतबार र सोमबार सिनेमाको व्यापारमा केही कमी देखिएकोमा आज मंगलबार देशभर उच्च व्यापार रहेको छ । हरेक हलमा यो चलचित्र हेर्न दर्शक उर्लिएकोमा निर्देशक ऋषी लामिछानेले खुसी व्यक्त गर्दै दर्शकप्रति आभार प्रकट गरेका छन् ।
मुनाल घिमिरेले निर्माण गरेको यो सिनेमामा केदारको साथमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ । सिनेमाको कमेडी र विषयवस्तुलाई दर्शकले रुचाएका छन् । ‘माग्ने राजा’का लेखक सामीप्यराज तिमलसेना हुन ।