जेरी अन टप टिजरमा सगरमाथा आरोहणको कथा


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ भदौ

नेपाली चलचित्र ‘जेरी अन टप’ को सोमबार काठमाडौँमा एक समारोहबिच टिजर सार्वजनिक भएको छ । असोज ३१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको टिजर कार्यक्रममा निर्धारित समय भन्दा करिब तीन घन्टा ठिलो भयो । रिलिज कार्यक्रममा देखाउनु पर्ने टिजरलाई सम्पादक तथा टिजर बनाउने प्राविधिकले समयमा काम नसक्दा यो चलचित्रका कलाकार देखि निर्माण टिमसम्म करिब तीन घन्टा चलचित्र घरमा निकै तनावमा देखिए । जसका कारण सञ्चारकर्मीले पनि आज त्यत्तिकै दुःख पाए ।

निर्माण ब्यानर अनन्या फिल्मस्’ले सोमबार पहिलो प्रचार सामग्री स्वरुप टिजर सार्वजनिक गरेको हो । सो कार्यक्रममा प्रमुख कलाकारहरू अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसीता गुरुङसँगै हास्य अभिनेता केदार घिमिरे ’माग्नेबुढा’, अभिनेता भुवन केसी, उषा खड्गी सहभागी थिए ।

कार्यक्रममा अभिनेता अनमोल केसीले चलचित्रको छायांकनको लागि हिमालमा आरोहण गर्दाका केही रोचक अनुभव सुनाए । यसका निर्देशक सुयोग गुरुङले सम्पूर्ण टिमको अथक मेहनतको नतिजा दर्शकसामु ल्याउन लागेको भन्दै साथको अपेक्षा राखे ।नौ वर्ष अघि बनेको अनमोलको चलचित्र जेरीको सिक्वेलको रुपमा यसलाई लिइएको छ ।

सार्वजनिक १ मिनेट ५२ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तुलाई खुलाउने प्रयास गरेको देखिन्छ । जेरी अन टपको कथावस्तु विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा केन्द्रीत छ । जेरी अन टपको अर्थ पनि जेरी सगरमाथाको टुप्पोमा पुगेका छन है भन्ने अर्थत टिजरले समेत दिएको छ ।

सरोज न्यौपानेको प्रस्तुतिमा तयार फिल्म जेरी अन टपको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानिमा साझेदारी गरेका छन् । यो फिल्मको कथा हेमराज बिसीको हो ।

फिल्मको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ’जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ ।

हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् । यो चलचित्र महंगो लागतमा तयार गरिएको निर्माण पक्षको कथन छ ।

तस्वीरः सुरेन्द्र थापा