साहित्यिक पत्रकार संघद्धारा पाँच श्रष्टा अभिनन्दित


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ साउन

काठमाडौँमा बिहिबार एक कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन भएका छन् । साहित्यिक पत्रकार सङ्घको ५४ औं स्थापना दिवसको उपलक्ष्यमा उनीहरुलाई संघबाट अभिनन्दन गरिएको हो । अभिननन्दित हुनेहरूमा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ छन् । सोही कार्यक्रममा पत्रकार प्रविनप्रसाद थपलियालाई नगदसहित सम्मान गरियो ।

अभिनन्दित हुनुहुनेहरूलाई अभिनन्दनपत्र, दोसल्ला, टोपी र माला समर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवम् प्रसिद्ध गीतकार एस्पी कोइराला र आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार एवं समाजसेवी शोभित उप्रेती, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., आख्यानकार हिरण्यकुमारी पाठकलगायतका महानुभावहरूले सो समर्पण गरे ।

सो अवसरमा प्रमुख अतिथि कोइरालाले साहित्यिक पत्रकार सङ्घले गर्दैआएको कामको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमले स्रष्टाहरूलाई अघि बढ्न सधैं प्रेरित गरिरहने बताए ।

अभिनन्दित साहित्यकार पुष्कर लोहनीले आफूले २० को दशकदेखि कलम चलाउन थालेको स्मरण गर्दै यो अभिनन्दनलाई आफूले साहित्यिक क्षेत्रमा आफूले गरेको कामको मूल्याङ्कनको रूपमा लिएको उल्लेख गरे ।

कवि एवम् अभियन्ता भीम उदासले गैरआवासीय नेपालीहरूको संस्था स्थापनाका पृष्ठभूमि र आफ्नो संलग्नताबारे चर्चा गर्दै त्यो संस्था देशका राजनीतिक दलका प्रभाव र हस्तक्षेपका कारण सकिन लागेकोमा दुःख व्यक्त गरे । पहिलो नायिका भुवन चन्दले कुनै पनि क्षेत्रको इतिहास लेख्दा सम्बन्धित व्यक्ति र योगदानकर्तालाई सोधेर बुझेर लेख्नुपर्नेमा जोड दिइन् ।

कलाकार एवम् कलासमीक्षक मुकेश मल्लले साहित्य र कलाबिच अन्योन्याश्रित सम्बन्ध रहेको धारणा प्रस्तुत गर्दै साहित्यिक क्षेत्रबाट भएको अभिनन्दनले आफूलाई भावुक बनाएको बताए ।

वरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित पाँचै जना व्यक्तित्वको योगदानबारे विस्तृत चर्चा गर्दै इतिहास बनाइसकेकाहरूको सम्मान वास्तवमा अभिनन्दन गर्ने संस्थाकै सम्मान भएको उल्लेख गरे ।

आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले संस्थाले विभिन्न समयमा गरेका सिर्जनात्मक कामहरूको चर्चा गर्दै आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने बताए ।  कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।