ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ साउन
जनै पूर्णिमा र गाईजात्राको अवसर पारेर नेपाली चलचित्र ‘मोहर’ आज शुक्रबारबाट नेपालका चलचित्र घरहरुमा रिलिजमा आएको छ । फिल्म रिलिज भएसँगै दर्शकको बलियो वर्ड अफ माउथ पाइरहेको छ । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो चलचित्र ‘मोहर’ले देउकी प्रथाको कथालाई मुख्य आधार बनाएको छ । पल, बेनिशा र नीतिको त्रिपक्षिय प्रेमले दर्शकको मन पहिलो दिनबाटै यसले जितेको छ ।
काठमाडौँमा शुक्रबार ५० प्रतिसत भन्दा माथि अक्युपेन्सी भएको यो चलचित्र मोफसलका हलहरुमा धेरै ठाउँमा शुक्रबार हाउसफूल छ । यो फिल्मले दर्शकको बलियो वर्ड अफ माउथ पाएपछि व्यापार बढ्नेमा वितकर करण श्रेष्ठ आशावादी देखिएका छन् ।
चुम्बन जंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । यो फिल्मको कथावस्तु, पल, बेनिशा र नीतिबिचको प्रेमको पटकथा, देउकी प्रथाको विषयलाई दर्शकले मन पराएका छन् । आज बिहान आयोजित फिल्मको विशेष शोमा फिल्म हेरेका अधिकांश पत्रकार र दर्शकले पनि ‘मोहर’ अपेक्षा गरेको भन्दा धेरै राम्रो बनेको बताए ।
दर्शकबाट फिल्मलाई लिएर उत्कृष्ट प्रतिक्रिया आएपछि नायक पल शाह भावुक देखिए । काठमाडौंको बीग मुभिजमा पुगेका पल आफू बोल्न नसक्ने अवस्थामा रहेको सुनाए । पलले भने–‘अहिले म बोल्न सकिरहेको छैन । एउटा कलाकारका लागि निर्देशक र टिम बलियो भयो भने उसले काम देखाउन सक्छ । यसपटक हामीले निकै मिहिनेत पनि गरेका थियौं । दर्शकको प्रतिक्रियाबाट मिहिनेत सफल भएको भन्ने लागेको छ ।’
यता, नायिका नीति शाह पनि भावुक देखिइन् । नीतिको यसअगाडिका फिल्ममा कामको आलोचना भएपनि यो फिल्ममा भने प्रशंसा भइरहेको छ । नीतिले आफूले यही क्षेत्रमा केही गर्न चाहेकाले मिहिनेत गर्नुपर्छ भन्ने सोचेको बताइन् ।
फिल्म ‘मोहर’को व्यापार भोलिका दिनमा बढ्नेमा विश्वस्त छन्, निर्माता चुम्बन जंग शाही । यता, नायिका बेनिशा हमालको पनि कामको प्रशंसा भइरहेको छ । बेनिशा पनि दर्शकबाट पाएको प्रतिक्रियाले आफू भावुक बनेको सुनाइन् ।
फिल्मको बलियो वर्ड अफ माउथले व्यापार बढ्ने विश्वास निर्माणपक्षको छ । यो फिल्ममा पल शाह, नीति शाह, वेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।