ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ साउन
नयाँ नेपाली चलचित्र ‘माग्ने राजा’ आगामी तीजको अवसर पारेर ६ भदौबाट नेपालमा रिलिज हुँदैछ । चलचित्र रिलिजको मिति नजिकिँदै गर्दा आज बिहिबार काठमाडौँमा एक समारोहबीच यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।
ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको यो चलचित्रको ट्रेलरमा मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई नै केन्द्रमा राखिएको छ । गाउँमा ऋण तीन नसकेर शहर छिरेका उनी कसरी रातारात धनी भए भन्ने जिज्ञासा सहितको ट्रेलर रमाईलो छ । ट्रेलरमा माग्ने राजा सडकबाट रातारात करोडपति बनेको उल्लेख छ । चलचित्रका शीर्ष कलाकारहरु केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीलाई ट्रेलरमा स्थान दिइएको छ । सार्वजनिक ट्रेलरमा मिस पबीलाई टेलिभिजन प्रस्तोता तथा गायिका तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई न्यायाधीशको रुपमा देखाइएको छ ।
यो चलचित्रले सिनेमाले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितीलाई ब्यंग्य गरेको छ । बिना मिहेनत पैसा कमाउन नहुने सन्देश दिने सिनेमाको ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ ।
नरेन्द्र मैनालीले खिचेको सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ’इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्माको संगीत रहेको छ ।