रेखाको तीज गीत ’मलाई क्या माया गर्छन्… सार्वजनिक


ब्युटी न्यु्ज नेपाल
काठमाडौँ, २० साउन

यस वर्ष पनि गायिका रेखा शाहले तीजलाई लक्षित गरेर तीज गीतको मर्मलाई समेटेर नयाँ गीत र म्युजिक भिडियो ’मलाई क्या माया गर्छन् नि राजैले’ सार्वजनिक गरेकी छिन् ।  ’सिमसिमे पानीमा’ फेम्ड गायिका शाहको यस गीतमा पवन रानाभाटको शब्द, सङ्गीत, सङ्गीत संयोजन र मास्टरिङ रहेको छ भने सुनीलकुमार शर्मा (शर्माजी प्युठान) को शब्द रहेको छ ।

अभिनेत्री नीति शाह र गायिका रेखा शाहको अभिनय र नृत्य रहेको भिडियोलाई कोरियोग्राफर स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । रूपेश थापाको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोले तीज गीतको गरिमालाई अझ बढाउनेमा गायिका शाह विश्वस्त छिन् ।

उनी भन्छिन्, “तीज गीतको आफ्नै सांस्कृतिक र साङ्गीतिक महत्त्व छ । विगतका गीतहरूजस्तै मौलिकतालाई मैले निरन्तरता दिएकी छु । स्रोता र दर्शकले अवश्य मन पराउनुहुनेछ ।“

अहिलेकी व्यस्त अभिनेत्री नीति शाहले राम्रो गीत भएकोले आफूले अभिनय गरेको बताइन् । उनले भनिन्, “रेखा दिज्यू हाम्री लिजेन्ड हुनुहुन्छ; उहाँको गीतमा अभिनय गर्न पाउँदा मलाई खुशी लागेको छ ।“

रेखा शाह फाउन्डेसनले निर्माण गरेको गीत र म्युजिक भिडियोलाई रेखा शाह युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।