ब्युटी न्युज नेपाल
काठमाडौँ, २० साउन
रिलिज मिति नजिकिँदै गर्दा नेपाली चलचित्र ‘कोशेढुंगा’को दोस्रो गीत ‘भँगेरा भँगेरी’ रिलिज गरिएको छ । यो चलचित्रको तीज भाकाको नयाँ गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ…’ले चर्चा पाइरहँदा यही चलचित्रको दोस्रो गीत सोमबार रिलिज गरिएको हो । प्रेम कथामा केन्द्रित यो गीतमा रिदम कँडेल र बेनिशा पौडेलको स्वर रहेको छ । गीतलाई रिदम कँडेलको संगीत गरेका हुन भने शब्द बिदुर तिमल्सिनाको हो । यो माधुर्य गीत सार्वजनिक भएसँगै युट्युबमा दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।
यो गीतको भिडियोमा कोशेढुंगाका मुख्य जोडी सुरक्षा पन्त र मन्जिल कुमारलाई प्रस्तुत गरिएको छ । उनीहरुबीचको प्रेम र नोकझोंकलाई गीतमा प्रस्तुत गरिएको छ । यो चलचित्र आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । अहिले निर्माण टिम चलचित्रको प्रचार प्रसारमा व्यस्त छ ।
यो चलचित्रमा सुरक्षा र मन्जिलसहित आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल लगायतको अभिनय रहेको छ । चलचित्रलाई कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको निर्देशन गरेका हुन् । यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । उनलाई सुनिल निउरे र सुबलमणि सापकोटाले लेखनमा सघाएका छन् ।
नरदेवी फिल्म्स र सारंगी फिल्म्सले निर्माणमा सहकार्य गरेको फिल्मको भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । यस्तै यसको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन तथा आशिष अविरल र रिदम कँडेलको संगीत छ । यो फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने जनाइएको छ ।