मोफसलमा पल शाह, ‘मोहर’लाई ‘पीजी’ सर्टिफिकेट


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ साउन

नेपाली चलचित्र ‘मोहर’को प्रचारप्रसारमा अभिनेता पल शाह अहिले व्यस्त छन् । उनी यति बेला चलचित्रको प्रचारमा मोफल पुगेका छन् । अभिनेता शाह फिल्मको प्रचारका क्रममा चितवन पुगेका हुन् । शुक्रबार अर्थात साउनको २३ गतेबाट रिलिज हुने यो चलचित्रको प्रचारका लागि चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा पल शाह सहभागी भए । उनले, चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार गरे । फिल्मको गीतमा समेत पल र दर्शक नृत्य गरेका थिए ।

अभिनेता शाह र गायक थानेश्वर गौतमले चितवनका दर्शकसँग फिल्म हेर्न आग्रह गरेका थिए । दर्शकहरुले पनि फिल्मको ट्रेलर र गीतसंगीतले प्रभावित बनाएको भन्दै आफूहरु ‘मोहर’का लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए । पलले दर्शकहरुसँग बसेर ‘मोहर सफलताको केक’ समेत काटेका थिए । चितवनका दर्शकसँग साक्षात्कार गरेका पलले आज पोखरामा आयोजना हुने कार्यक्रममा दर्शकसँग भेटघाट गर्नेछन् । पोखरामा पनि पलले फिल्मको गीतमा दर्शकसँग नृत्य गर्नेछन् ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मलाई ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार पारिएको हो । फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । यो फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।

देउकी प्रथाको कथामा आधारित यो फिल्मको सेन्सर समेत भएको छ । चलचित्र सेन्सर बोर्डले यो फिल्मलाई ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनीका बालबालिकाले बाबुआमाको साथमा हल पुग्नुपर्नेछ ।