३ असोजमा आउने जारी–२ को यस्तो छ ३ पोस्टर


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ साउन

यो वर्षको दसैंंलाई लक्षित गर्दै आगामी ३ असोजा अर्थात संविधान दिवसको दिन नेपाली चलचित्र ‘जारी २’ पनि रिलिज गरिने भएको छ । यो चलचित्र घटस्थापनाको तीन दिन अघि रिलिज गर्न लागिएको हो ।

‘जारी २’को फस्ट लुक्सको रूपमा ३ वटा पोस्टर शुक्रवार सार्वजनिक गरिएको छ । तीन वर्ष पहिला रिलिज गरिएको चलचित्र ‘जारी’ बम्पर हिट भएपछि सिक्वेलको रुपमा यति बेला ‘जारी २’ निर्माण गरिएको हो ।

हिजो सार्वजनिक गरिएको तीन पोस्टरमध्ये पहिलो पोस्टरमा दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवै पोस्टरमा उनीहरूलाई खुशी मुद्रामा देख्न सकिन्छ, जसमा एक पोस्टरमा दयाले मस्तीपूर्वक च्याब्रुङ बजाइरहेको देख्न सकिन्छ भने मिरुनालाई परम्परागत लिम्बु पहिरनमा खुलेर मुस्कुराइरहेको देख्न सकिन्छ । एउटा पोस्टरमा भने यस चलचित्रका प्रमुख कलाकारहरू सबै अटाएका छन् ।

कवि हुँदै सिनेमा लेखकको परिचय बनाउँदै सिनेमा निर्देशक भएका उपेन्द्र सुब्बा लिखित–निर्देशित सिनेमाको एक पोष्टरमा भने दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, विजय बराललाई पनि समेटिएको छ । यसका साथै एउटी बालिका र मिरुनालाई अघि लगाएर आफू लठ्ठी टेक्दै, पछिल्तिर खोसेली बोकेका भरियासहित दयाहाङलाई देखाइएको छ । सार्वजनिक भएका ती तीनै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटो ‘च्याब्रुङ’ बाजाको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ। सिनेमाका यी पोस्टरले एउटा अद्भुत कथा पर्दामा पस्किने सहज अनुमान गर्न सकिन्छ।

यो चलचित्रमा दयाहाङ, मिरुना, विजय तथा बुद्धिका अलावा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।