ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ साउन
साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर बिहीबार नयाँ चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभ साईतसँगै निर्माण घोषणा गरिएको छ । बिहीबार ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरिएको हो ।
टेलिभिजन सिरियल भद्रगोल निर्माण तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) ले यो चलचित्रको निर्देशन गर्दै छन् । गतवर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल सक्किगोनि निर्माण तथा निर्देशन गरिरहेका थिए । गत वर्षको फागुन १३ मा उनको टिम जेपिटी क्रियसनले निर्माण ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो । यो सिनेमामा अर्जुन घिमिरे (पाँडे)ले मुख्य भूमिकामा अभिनय समेत गरेका थिए । यति बेला उनी आफै निर्देशनमा अग्रसर भएका हुन् ।
‘झरीपछिको इन्द्रेणी’मा सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी)लाई मात्र समावेश गरेका छन् । अन्य कलाकार पनि कथाले मागेको खण्डमा भित्रिन सक्ने सिनेमाको मुहूर्तपछि मिडियासँगको कुराकानीमा निर्देशक पाँडेले बताए । यो सिनेमाबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेतीले नेपाली रजतपटमा कमव्याक गर्दैछन् । एउटा राम्रो टिमबाट कमव्याक गर्न पाउँदा आफु निकै उत्साहित रहेको कलाकार उप्रेतीलेृ बताए ।
यो सिनेमामा गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहने छ । सिनेमामा अर्जुन घिमिरे (पाँडे)को अभिनय रहने कि नरहने भन्ने खुलाइएको छैन् । शुभमुहूर्तसँगै आजैबाट छायांकन सुरु गरिएको सिनेमा काठमाडौं, ललितपुर र भक्तपुरमा खिचिनेछ ।
पारिवारिक कथावस्तुमा निर्माण हुने सिनेमाको छायांकन सेड्युल ४५ दिनको रखिएको छ । सिनेमामा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको छ ।
पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो सिनेमालाई बुद्ध थापाले छायांकन र सुशील कडरियाको लगानी रहनेछ । रास्वापा नेता गणेश कार्कीको समेत गीत रचना रहने सिनेमाको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइएको छ ।