राम नाम सत्यमा टिकटकर आयुश सिंह अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ साउन

माइकल चन्दको निर्देशनमा गत वर्ष नै निर्माणको घोषणा गरिएको नेपाली चलचित्र ‘राम नाम सत्य’ अब भने निर्माण हुने भएको छ । यो चलचित्रमा एकपछि अर्को कलाकार धमाधम अनुबन्धित गरिएको छ । चलचित्रमा टिकटकर आयुष सिंह ठकुरी अनुबन्धित भएका छन् । आज यो फिल्मको निर्माणपक्ष र आयुषले कागजी संझौता गरेका छन् । उनको यो डेब्यू फिल्म हो ।

यो फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरु यसअघि नै फाइनल भइसकेका छन् । अब, एक नायिका फाइनल गरेपछि कलाकारहरुको लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ ।

फिल्मका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता गरे । फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने–‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ । यसैले साइन गरेको हुँ ।’

‘राम नाम सत्य’का लागि केही महिनादेखि आयुषले मिहिनेत पनि गरिरहेका छन् । फिल्मका निर्देशक माइकल चन्दले भने–‘आयुष र हामीबिच काम गर्ने सहमती भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौं । अब, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् । उनले फिल्मका लागि निकै मिहिनेत गरिरहेका छन् ।’

साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ । उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट सह–निर्माताको रुपमा छन् । संजय लामाको डीओपी रहने फिल्मको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ ।

तेज विक्रम केसी हेड अफ प्रोडक्सन रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर नविन जंग शाह हुन् । अर्जुन पोखरेलको संगीत रहने फिल्मलाई माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण गर्न लागिएको हो ।