चौथो म्यूजिक खबर तीज म्यूजिक अवार्डको आवेदन खुला


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ साउन

‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को चौथो संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरिएको छ । आटिष्ट अफ नेपालको प्रस्तुतिमा यो अवार्ड विगत ४ वर्षदेखि नियमित हुँदै आएको छ ।

शुभकामना मिडिया सोलुसनको आयोजनामा हुँदै आएको तीज अवार्डमा विभिन्न २५ विधाका स्रष्टा र सिर्जना यस अवार्डमा सहभागी हुन पाउनेछन् । पहिलो वर्ष शिवशक्ति तीज म्यूजिक अवार्डको नामले स्थापित भएको यो अवार्ड दोस्रो वर्षबाट भने अनलाइन मिडिया म्यूजिक खबरले ब्रान्डिङ गरेको छ । म्युजिक खबर तीज अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलले चौथो म्यूजिक खबर तीज अवार्डमा विभिन्न २२ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताइन् । समारोहमा सांगीतिक क्षेत्रमा मौलिकतामा जोड दिएर योगदान पु¥याउने तीन नारी ‘त्रिदेवी संगीत सम्मान’द्वारा सम्मानित हुनेछन् ।

यो अवार्ड आगामी भदौ ५ गते गोंगबुस्थित बीजी बैंकटको हलमा समापन गरी अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रमसँगै तिज फेस्टिबल मनाउँदै चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमसमेत रहेको अध्यक्ष पोखरेलले जानकारी दिइन् । उनले भनिन् – ‘तीजका अवसरमा थुप्रै गीतहरु सार्वजनिक हुने गरेका छन् । सांस्कृतिक पर्व तीजको एउटा विशेषता गीत संगीत पनि हो । तीजकै अवसरमा तीजको मर्म बोकेर सार्वजनिक भएका गीतका स्रष्टा वा सिर्जनालाई तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्डको थालनी गरेका हौं ।’

तीज अवार्डका लागि साउन ३१ गते सम्म आफ्ना सिर्जना सहभागी गराउन पाउने प्रावधान रहेको छ । सहभागी हुनका लागि म्यूजिक खबरको कार्यालय, सामाखुसीमा फाराम उपलब्ध छ । डिजिटल माध्यमबाट सहभागी हुनका लागि एभेन्टोज डटकम मार्फत् आफ्नो सिर्जनालाई सहभागी गराउन पाइनेछ ।