चलचित्र जनक्रान्ति निर्माणको घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० साउन

चलचित्र जनक्रान्ति निर्माण हुने भएको छ । गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित रहेर यो चलचित्र निर्माण गर्न लागिएको निर्माण संस्थाले जनाएको छ । रुद्राक्ष फिल्स प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन ।

शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् । पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक, राजनैतिक, आर्थिक अवस्था वारे जानकारी दिन र लिन सहयोगी हुने बिस्वास व्यक्त गरे । हिजोको समाजको अवस्था बारे युवा पुस्ता लाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो ।

भाद्र दोस्रो साता देखी चलचित्रको छायाकन सुरु गरिने निर्माण पक्षले बताएको छ । जनकान्तिको प्रर्दशनको मिति फागुन १ का लागी तय गरिएको निर्माता रुद्र प्रसाद खनालले जानकारी दिए । चलचित्रमा गणतन्त्र स्थापनाका लागी भएका बिभिन्न आन्दोलनहरुको पृष्ठभुमिको कथा समेटिएको निर्देशक तिमिल्सिनाले बताए । सत्य घटनामा आधारीत हुने चलचित्र नयाँ पुस्ताका युवाहरुका लागी नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ ।

चलचित्रको छायाँकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला,कालिकोट, बाँके, बर्दिया र पुर्बि नेपालको धनकुटा खोटाग भोजपुर तथा तराई मधेशको सर्लाहीमा गरिने छ ।