द ब्ल्यु लाइटको फस्ट लुक्स यस्तो


ब्युटी न्युज नेपाल
काठमाडौं, १० साउन

नेपालमा पछिल्लो समय साइकोलोजिकल थ्रिलर जनराको चलचित्र निर्माण क्रम मौलाएको छ । यही जनरामा नयाँ नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माण भएको छ ।
यति बेला यो चलचित्रको टिजससँगै पहिलो पोस्टर (फस्ट लुक्स) सार्वजनिक भएको छ । आगामी १२ मंसिरमा यो चलचित्र रिलिज हुने घोषणा पनि गरिएको छ । यो चलचित्रकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको छ ।

चलचित्रको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन् । आफ्नो बुवाको मृत्यु भएको सपना डराइडराई बुवालाई सुनाइरहेकी छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाबाट पहिलो झलक सुरु हुन्छ । बुवाले छोरीलाई उनको डर दूर गराउन सपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ भन्दै कन्भिन्स गर्छन् ।

त्यसपछि आफूलाई कमजोर भएको महसुस गरेपछि कठोर र सहासी बनाउन हतियार लिएर हिँडिरहेकी युवती र चाल सुनिरहेकी अर्की युवतीबीचको डर र डर हटाउन गरेको प्रयास छ । जसले दर्शकलाई तर्साउँछ । पहिलो झलकले सिनेमा साइकोलोजिकल थ्रिलर भएको पुष्टि गर्छ ।

पहिलो झलक भन्दै निर्माणपक्षले निलो पृष्ठभूमीमा सिनेमाका मुख्य तीन कलाकारलाई प्रस्तुत गरेको छ । पहिलो झलकमा बेनिशासँगै अपर्ण थापा र श्रृष्टि श्रेष्ठ छन् । तीनै जना तनावपूर्ण भावमा छन् । एंग्री लुक्समा रहेकी सृष्ठि श्रेष्ठको हातमा आलो रगत लतपतिएको बन्चरो छ । उनले भर्खरै बन्चरो कसैमाथि प्रहार गरेको अनुमान लगाउन सकिन्छ ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानकोको यो डेब्यु सिनेमा हो ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

निर्माणपक्षले कलाकारको भूमिका र चलचित्रको कथाबारे प्रष्ट पारेको छैन । निर्देशक चौहानले विस्तारै खुलाउँदै जाने बताएका छन् । बलिराम चौहान (ग्याट्स्वी) निर्माता रहेको ‘द ब्ल्यू लाइट’को सह–निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहेका छन् । चलचित्रको छायांकन मैनालीले नै गरेका हुन् । चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।