मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’को ट्यालेन्ट शो सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ साउन

दक्ष इन्टरनेशनलको आयोजनामा हुने ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ सौन्दर्य प्रतियोगिताको ट्यालेन्ट शो भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङको विशिष्ट उपस्थितिमा सम्पन्न भएको थियो । ट्यालेन्ट शोमा प्रतियोगीहरूले गायन, नृत्य, कविता, अभिनय, मोडलिङलगायत विभिन्न सृजनात्मक विधामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। सहभागीहरूको आत्मविश्वास, प्रस्तुतीकरण शैली र सामाजिक सन्देश संप्रेषण गर्ने क्षमताले निर्णायक मण्डललाई समेत प्रभावित बनाएको थियो।

कार्यक्रमको निर्णायक मण्डलमा कला, सौन्दर्य तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका अनुभवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उक्त प्रतिभा प्रदर्शनमा वरिष्ठ अभिनेता उत्तम केसी, गायक सपन श्रेष्ठ, गायक रेशम सापकोटा, हांस्य कलाकार हरिश निरौला कक्रोज,गीतकार प्रभा बर्तौला, गायिका सरिता भारती, सौन्दर्यविद सुनिता पहांगो लिम्बु,तथा मिसेस तामाङ्गकी विजेता दुर्गा तामाङ्गको निणार्यक मण्डल रहेको थियो । उनीहरूले प्रतिभाको मूल्यांकन निष्पक्ष, व्यावसायिक र गुणस्तरीय रूपमा गरेका थिए। ट्यालेन्ट शो समारोहका संचालन गीता उप्रेती र सम्राट थापाले गरेका थिए ।

कार्यक्रमले प्रतियोगीहरूको सिर्जनात्मक क्षमता उजागर गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्थाले जनाएको छ। आगामी साउन १० गते नेपाल पुलिस क्लब, काठमाडौंमा उक्त प्रतियोगीताको ग्राण्ड फिनाले सम्पन्न हुने जानकारी आयोजक समितिका अध्यक्ष एवं सेलीब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेले दिए ।

ट्यालेन्ट शोको सफल आयोजनापछि प्रतियोगीहरूको प्रशिक्षण थप सशक्त रूपमा अघि बढाइएको छ। आयोजकका अनुसार प्रशिक्षण अन्तर्गत व्यक्तित्व विकास, सार्वजनिक प्रस्तुतिको सीप, सामाजिक उत्तरदायित्व र नेतृत्व विकासका विषयमा विशेष तालिमहरु संचालन गरिँदै छन्।

दशौं संस्करणअन्तर्गत ‘मिस’ वर्गमा प्रतिस्पर्धा गर्ने सहभागीहरूमा काव्या ढकाल, सपना कुमारी सहनी, अनुग्रह घिमिरे, सोनिया रन्जित, श्रेया वाग्ले, विपना भट्टराई, प्रमिला न्यौपाने, प्रसुना सेन्चुरी र एलिना कार्की रहेका छन् । त्यस्तै, नवौं संस्करणअन्तर्गत ‘मिसेस’ वर्गमा मोनिका शर्मा, प्रिया कार्की, मनिषा गुरागाईं, अनिता राज भण्डारी र पारु खड्का प्रतिस्पर्धी छन् ।

कार्यक्रमको इभेन्ट डाइरेक्टर रमेश पाण्डे रहेका छन् भने इभेन्ट म्यानेजरको रूपमा राहुल बन्जाडे रहेका छन्। आयोजकमा चर्चित सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे, इभेन्ट कोअर्डिनेटर गीता उप्रेती, अन्तर्राष्ट्रिय कोरियोग्राफर आश्विनी झा र अफिसियल फोटोग्राफर बद्री थापा रहेका छन् ।

‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगिता सौन्दर्यलाई मात्र होइन, सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको सन्देश बोकेको बहुआयामिक कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ ।