संगीत समीक्षा
ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ साउन
आगामी ६ भाद्रमा नेपालमा रिलिज हुने नेपाली चलचित्र ‘माग्ने राजा’को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा…’को भिडियो सोमबार ललितपुरमा एक समारोहबिच सार्वजनिक गरियो । गीत सार्वजनिक भएसँगै यसले विभिन्न टिप्पणी खेप्नु परेको छ । चलचित्रको गीत देखि यसको भिडियोको अवधारणासँगै नक्कल गरिएको आरोप अहिले निर्माण टिमलाई लागेको छ ।
यो गीतलाई धन बहादुर गिरी (बाबुल)ले शब्द, संगीत, स्वरसँगै संगीत संयोजन गरेका हुन् । तर यो र्याप गीत मौलिक नभएर चार वर्ष अघि भिटेनले बजारमा ल्याएको ‘हामी यस्तै त होनी ब्रो…’बाट प्रभावित भएको आरोप लागेको छ । यो गीतको शब्द चयनदेखि अवधारणसम्म हेर्दा भिटेनको गीत ‘हामी यस्तै त होनी ब्रो’बाट अवधारणा नक्कल गरिएको हैन भन्न सकिन्न । किनकि यो गीतको शैली पनि भिटेनको ‘हामी यस्तै त होनी ब्रो…’कै जस्तो छ ।
भिटेनको त्यो गीत कसरी बन्यो भन्ने प्रसङ्ग पनि निकै रोचक छ । संगीतमा विकृति ल्याएको आरोपमा चार वर्ष अघि रौतहट, चन्द्रनिगाहपुर (चपुर)का गायक भिटेनलाई प्रहरीले पक्राउ गरेर केही दिन हिरासतमा राख्यो । तिहारको मुखमा उनी पक्राउ परेपछि बुबा र आफन्तले उनलाई आफ्नो जमानतमा प्रहरी हिरासतबाट मुक्त गरे ।
यसपछि भिटेनले एउटा ¥याप गीत ‘हामी यस्तै त होनी ब्रो’ बजारमा ल्याए । अटो रिक्सा चलाउँदै गरेका बुबाको पुरानो घरलाई भत्काएर आफ्नो कमाइले चन्द्रनिगाहपुरमा एउटा घर जोडेर जीवन चलाउँदै गरेका भिटेनको यो गीत आएपछि उनी साँच्चै धनी हुन भन्ने धेरैलाई भ्रम भयो । तर उनले यो गीतमा सबै गफ चुटेका थिए । धन सम्पत्ति, शक्ति केही नभए पनि मानिसहरूले कसरी फुर्ती लगाउन सक्छन् भन्ने कुरालाई भिटेनले यो गीतमा उठान गरेका थिए । गीतले त्यति बेला बजार पिट्यो । त्यति बेला यो गीतको तल उल्लेख गरिएको हरफ निकै भाइरल भएको थियो ।
‘थरी थरी चुरोट खान्छु थरी थरी रक्सी
थरी थरी खैरे भेट्छु अन्तर्राष्ट्र हब्सी
पुलिस चौकी भित्र गर्छु दारु खाँदै मस्ती
करोडौँको लोन दिन शाहरुख खानलाई अस्ति
गाउँ मेरो रौतहट चन्द्र निगाहा
हजुर बाउको प्रपटी १५ बिघा…’
यो गीतमा भिटेनले आफ्नो सम्पत्तिको रवाफ देखाएका थिए । आफ्नो शक्तिको पनि रवाफ देखाएका थिए । देश विदेशदेखि चलचित्रसम्म आफ्नो पकड भएको कुरा उनले यो गीतमा उल्लेख गरेका थिए । चलचित्र माग्ने राजामा पनि गीतकार धन बहादुर गिरीले भिटेनले उठाएकै रवाफलाई र्याप शैलीमा ‘म त सुतेर उठेको पैसामा…’मा उठाएका छन् । तर उल्लेख गरिएको यो चार हरफबाट पनि भिटेनको गीतको अवधारणको नक्कल गरिएको स्पष्ट हुन्छ ।
‘मेरो लाख बिघा जमिन छ तराईमा
मेरो खाना पाक्छ सुनैको कराइमा
मेरो पाँच तारे होटल सहरैमा
हेलिकप्टर लिन आउँछ घरैमा..’
भिटेनको गीतमा पनि प्रेमराजा महत र रेखा शाहको सिमसिमे पानीको भर्सनलाई लिइएको छ । उनले सिमसिमे पानी त बबाल दामी, सही हो सही हो… भनेर सिमसिमे पानीको र्याप भर्सन बनाएका छन् । यता गीतकार धन बहादुरले आफ्नो गीतलाई अब चाईल्ड भर्सन बनाउनु पर्छ भनेर यो गीतमा बाल कलाकार मार्फत भनेका छन् र बनाएका पनि छन् । यी दुई गीतलाई तुलना गर्दा धनबहादुरको गीत म त सुतेर उठेको पैसामा भन्दा मिक्सिङ, मास्टरिङ देखि संगीत सबै कुराले भिटेनको गीत हामी यस्तै त होनी ब्रो निकै सशक्त बनेको छ । तथापि भिटेनको अक्कललाई नक्कल गरेर बनाइएको यो पैसा गीत भाइरल हुने त देखिन्छ । तर गुणस्तरमा कमसल बनेको छ । यो यर्थात टिप्पणी चलचित्र निर्माता निर्देशकदेखि स्वयम् गीतकार संगीतकारलाई समेत स्वीकार्य नहुन सक्छ ।
यो चलचित्रको गीत मात्र हैन, गीतको भिडियोको अवधारणा पनि भिटेनकै गीतको भिडियोबाट धेरै मात्रामा लिएको देखिन्छ । गीतको भिडियोलाई गम्भीर विष्टले नृत्य निर्देशन गरेका हुन् । भिटेनले पनि आफ्नो गीत हामी यस्तै त होनी ब्रोमा पैसाको रवाफ देखाएका छन् । उनले झोला भरी पैसा बोकेर क्लबमा हजारौँको नोट छर्दै रवाफ देखाएका छन् । ठक्कै त्यही शैलीमा माग्ने राजाको यो गीतमा केदार प्रसाद घिमिरेले ओछ्यान देखि सडकसम्म पैसा छर्दै पैसाको रवाफ देखाएका छन् । यसरी गम्भीर विष्टले पनि भिटेनके गीतको भिडियोको अक्कललाई यो गीतको भिडियोमा ढंग पु¥याएर नक्कल गरेको देखिन्छ । भिटेनको भिडियोमा पैसाको रवाफका कारण गुण्डागर्दी शैलीमा भिडियोमा क्लब देखि अर्काको कार्यालय कब्जा गरेका देखाएका छन् । यो गीतको भिडियोमा माग्ने राजाले पैसाको आडमा अर्काको सुन्दर कुकुर, युवती देखि अर्काले घाँटीमा लगाएको गहना जस्ता थुप्रै कुराहरू कब्जा गरेको दृश्य राखिएको छ । नृत्य निर्देशक गम्भीर विष्टको यो अवधारणा भिटेनकै गीतको भिडियोको अवधारणासँग त संयोगले मेल खाएको पक्कै हैन होला नि ?
यस्तै भिटेनले आफ्नो सुटिङमा राजेश हमाल आएको, आफूलाई निलो चलचित्रबाट अभिनयको प्रस्ताव आएको तर आफूले अभिनय नगरेको कुरा गीतमा उल्लेख गरेका छन् । तर यसको ठिक उल्टो गम्भीर विष्टले माग्ने राजालाई अरू कसैको सुटिङमा लगेर पैसाको आडमा जबरजस्ती फिल्म खेलाई दिएका छन् । यो अवधारणा पनि भिटेनको गीतमा उनले फिल्म नखेलेको अवधारणाको रिभर्स हो भन्दा अति रञ्जना नहोला ।
अन्त्यमा यी दुवै हावादारी गीत हुन् । दुवै गीत खहरेको भेल जस्तै केही क्षण उर्लिएर त्यसपछि सुक्ने शैलीका सृजना हुन । केवल भाइरल र सस्तो चर्चाको लागि आजकाल यस्ता गीतहरू बन्ने गरेका छन् । तथापि चलचित्र माग्ने राजाका निर्माता निर्देशक देखि गीतकारसम्मले चलचित्रको कथाको माग अनुसार नै यो गीत बनाइको हो र यो सत प्रतिशत मौलिक एवम् आफूहरूको मात्र अवधारणा हो भनेर दाबी गरेको खण्डमा अचम्म मान्नु नपर्ला ।