माग्ने राजाको पैसा गीत सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ साउन

आजको एक महिनापछि अर्थात आगामी ६ भाद्रबाट नेपाली चलचित्र ‘माग्ने राजा’ रिलिज हुँदैछ । माग्ने राजा त्यही चलचित्र हो जसमा केदार प्रसाद घिमिरे आर्थत माग्ने बुढाले नायकको रुपमा माग्ने राजाको भूमिका निभाएका छन् ।

गत साता महँगो पारिश्रमिकको विवादले ट्रोल बनेको यो चलचित्रको आज ललितपुरमा एक कार्यक्रमकाबिच यो चलचित्रको गीत ‘म त सुतेर उठेको पैसामा…’को भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा माग्ने राजाको मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्काको अभिनय छ ।

धन बहादुर गिरी (बाबुल)को रचना, संगीत, स्वर रहेको यो गीतमा बाल कलाकार रोनिश खड्काको पनि स्वर छ । गम्भिर बिष्टको कोरियोग्राफी रहेको गीतको अडियो कमजोर छ । अडियोको तुलनामा भिडियो राम्रो बनेको छ । र्याप शैलीको यो गीत भाइरल हुने शैलीमा बनाईएको छ ।

यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । यो सिनेमाबाट उनले करिब ८ वर्षपछि निर्देशनमा कमव्याक गरेका छन् । सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । नरेन्द्र मैनालीले खिचेको सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्माको संगीत रहेको छ ।