चलचित्र रिमै अब २० भदौमा रिलिज हुने, आयो टिजर


ब्युटी न्युज नेपाल
काठमाडौँ,६ साउन

खिल बहादुर गुरुङको निर्देशन निर्माण भएको नेपाली चलचित्र रिमै यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको थियो तर एकाएक चलचित्रको रिलिज मिति परिवर्तन गरिएको छ । यो चलचित्र अब भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । यसै बिच रिमैको टिजर सार्वजनिक गरिएको छ । मंगलबार सिनेमाको करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको प्रदर्शन मिति समेत एक हप्ता अगाडी ल्याएको हो ।

टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको कथावस्तु झल्काइएको छ । दयाहाङ राईको गम्भीर भूमिका, रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको रहस्यमय चरित्र र बुद्धि तामाङको गहिरो अभिनयले दर्शकको ध्यान खिच्न सफल भएको देखाइएको छ । गुरुङ संस्कारलाई विशेष रुपमा प्रस्तुत गरिएको टिजरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ ।

वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमा गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

चलचित्रमा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ । दीपक शर्मा र थानेश्वर गौतमको संगीत रहेको यो चलचित्रमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । जसमा शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् ।