(समाचार टिप्पणी )
विगत १० वर्षदेखि एक दर्जन चलचित्रमा काम गरेर एउटा फरक स्टारडम बनाइसकेका प्रदीप खड्कालाई प्रोत्साहन अर्थात् इनकरेजमेन्ट अवार्ड दिनु जस्तो हास्यास्पद कुरा अरु हुन सक्दैन ।
………………………………………………………………………………………….
ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ असार
हिजो अपराह्न राष्ट्रपति कार्यालयमा प्रदान गरिएको २०८१ सालको राष्ट्रिय चलचित्र पुरस्कारको हिजो साँझबाटै प्रशंसासँगै टिका टिप्पणी सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पुरस्कारको सम्पूर्ण अधिकार निर्णायकलाई दिएको भने पछि अहिले निर्णायकहरूमाथि औँला उठाउन थालिएको छ ।
स्मरण रहोस् की यस पटक राष्ट्रिय चलचित्र पुरस्कार निर्णायकमा चलचित्र निर्देशक एवम् कलाकार रमेश बुढाथोकी, सम्पादक करुण थापा, निर्देशक सुचित्रा श्रेष्ठ, द्धन्द्ध निर्देशक एनबी महर्जन र निर्देशक दीपेन्द्र के खनाल थिए । यही पाँच जनाको टोलीले यस पटकको अवार्डका विजेता छानेको हो ।
यस पटक निर्णायक समिति प्रोत्साहन अवार्ड अर्थात् जुरी टिम इनकरेजमेन्ट अवार्ड अभिनेता प्रदीप खड्कालाई चलचित्र पुजार सार्कीबाट प्रदान गरियो । यो नै निर्णायक टोलीको सबैभन्दा हास्यास्पद निर्णय थियो । अन्तर्राष्ट्रिय महोत्सवको अभ्यास हेर्ने हो भने चलचित्रमा भरखर डेब्यु गरेका तर निकै प्रभावशाली काम गरेका कलाकार तथा प्राविधिकलाई जुरी टिमले इनकरेजमेन्ट अवार्ड प्रदान गर्छन ।
तर विगत १० वर्षदेखि एक दर्जन चलचित्रमा काम गरेर एउटा फरक स्टारडम बनाइसकेका प्रदीप खड्कालाई प्रोत्साहन अर्थात् इनकरेजमेन्ट अवार्ड दिनु जस्तो हास्यास्पद कुरा अरु हुन सक्दैन । उनलाई सोझै एक्टरको यो वर्षको जुरी अवार्ड दिनु पर्थ्यो । इनकरेजमेन्ट अवार्ड दिएर उनको सम्मान भएको देखिँदैन ।
अघिल्लो पटक चलचित्र टुल्कीबाट नव अभिनेत्री स्वस्तिमा कार्कीलाई यस्तो प्रोत्साहन अवार्ड दिइएको थियो । उनी नयाँ थिइन् । त्यसैले पहिलो चलचित्रमै राम्रो काम गरेका कारण कार्कीलाई यो अवार्ड दिनु ठिक थियो । तर १० वर्षमा दर्जन चलचित्र खेलेको अभिनेतालाई इन्करेजमेन्ट अवार्ड दिनु जुरीहरूको हास्यास्पद काम हो भन्दा अतिरञ्जना नहोला ।
तर यही अवार्ड आफूले पाईन भनेर अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक सञ्जालमा रोईलो गरिन् । उनले त बोर्ड अध्यक्ष दिनेश डिसीलाई सम्बोधन गर्दै फेसबुकमा यस्तो टिप्पणी लेखेकी छिन्,‘लौ नायकज्यूहरूलाई मात्रै प्रोत्साहन गर्नुस्, हामी महिला कलाकारहरूलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामीले कहिले पाउने ? फिल्म डेभलपमेन्ट बोर्ड नेपाल, दिनेश डिसीज्यू’
नायिका वर्षाले यस्तो स्ट्याटस लेख्दा वरिष्ठ गीतकार राजेन्द्र थापादेखि धरै समीक्षकहरूले उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र शाम्वालाकी नायिका थिन्ले ल्हामोलाई प्रदान गरिनु पर्ने पनि सामाजिक सञ्जालमार्फत सुझाव दिए ।
चलचित्र छक्का पन्जा ५ मा निकै राम्रो काम गरेकी वर्षा सिवाकोटीले उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाउँदा उनलाई दुःख लाग्ने स्वाभाविक नै हो । तर उनले आफूहरूलाई प्रोत्साहन नगरेको भनेर बोर्ड अध्यक्षलाई नै गुनासो गर्नु उपयुक्त हैन । किनकि वर्षा पनि एक दशकदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय छिन् । उनले थुप्रै चलचित्रमा राम्रो काम गरेकी छिन् । अझ छक्का पन्जा ५ उनको माइल स्टोन चलचित्र हो । त्यैले उनले मलाई प्रोत्साहन पुरस्कार हैन, उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइनु पर्थ्यो भनेर माग गर्नु पथ्र्यो ।
यस पटक साँच्चै जुरी टिमको रोजाइबाट प्रोत्साहन पुरस्कार चलचित्र अञ्जिलाकी अभिनेत्री एवम् फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाले पाउनु पर्थ्यो । किनकि एउटा फुटबल खेलाडीले आफ्नै कथामा पहिलो पटक यति राम्रो अभिनय साँच्चै प्रोत्साहन गर्न योग्य थियो । त्यसैले निर्णायकले कसलाई कस्तो अवार्ड दिने भनेर बेलैमा होस पुर्याउनु पर्छ ।
तस्बिर साभार : सुरसिनेमा