बिजय र उपासनालाई उत्कृष्ट अभिनेता अभिनेत्री अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० असार

नेपाली चलचित्र उधोगमा पाँच दशक भन्दा लामो समयदेखि योगदान दिँदै आएका विशिष्ट चलचित्र निर्देशक एवम् लेखक लक्ष्मीनाथ शर्मा चलचित्र दीर्घ साधना सम्मान २०८१ बाट सम्मानित भएका छन् । शर्मालाई ३ लाख ७५ हजार रुपैयाँसहित दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको हो । सोमबार चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालय महाराजगञ्जमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार–२०८१ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शर्मालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरे ।

सोही समारोहमा २०८१ सालको राष्ट्रिय चलचित्र पुरस्कार पनि प्रदान गरियो । २०८१ सालमा प्रदर्शन भएका नेपाली चलचित्रहरुलाई रमेश बुढाथोकी, करुण थापा, सुचित्रा श्रेष्ठ, एनबी महर्जन र दीपेन्द्र के खनालको निर्णायक टोलीले विभिन्न ९ विधामा उत्कृष्ट चयन ग¥यो । तिनै नौ विधामा कार्यक्रममा राष्ट्रिय चलचित्र पुरस्कार (अवार्ड) प्रदान गरियो ।

कार्यक्रममा अभिनेताको अवार्ड चलचित्र पूर्णबहादुरको सारंगीबाट विजय बरालले, अभिनेत्रीको अवार्ड चलचित्र खुस्माबाट उपासना सिंह ठकुरीले, निर्णायक समिति प्रोत्साहन अवार्ड चलचित्र पुजार सार्कीबाट अभिनेता प्रदीप खड्काले पाए । उत्कृष्ट चलचित्रको पुरस्कार शाम्बालालाई र निर्देशकको अवार्ड शाम्बालाका निर्देशक मीनबहादुर भामलाई दिइयो ।

चलचित्र लेखकको अवार्ड चलचित्र छक्का पन्जा ५ बाट दीपकराज गिरीले थापे भने यसम्पादकको अवार्ड पुराज सार्कीबाट भरत रेग्मीले, छायांकारको अवार्ड चलचित्र पिताम्बरबाट पुरुषोत्तम प्रधानले पाए । आदिवासी मातृ भाषी तर्फ नेपाल भाषाको चलचित्र गालय् वनलाई अवार्ड दिईयो । अवार्ड बिजेता ९ जनालाई नै अवार्ड र प्रमाणपत्रसँगै जनही २५ हजार रुपैयाँ पनि प्रदान गरियो ।

सागर लिम्बुको लिम्बु भाषाको चलचित्र ‘चे’ र जुनमाया मगरको मगर भाषाको चलचित्र ‘दिलसरा’ लाई विशेष चलचित्र पुरस्कार प्रदान गरियो । यी दुबै चलचित्रले सब टाईटलको लागि बोर्डबाट प्रति चलचित्र २ लाख रुपैयाँ पाउने कार्यक्रममा घोषणा गरियो ।

दिवंगत छायांकन सहयोगी (लाइट म्यान) श्रवण कुमार मास्केलाई मरणोपरान्त विशेष सम्मान प्रदान गरियो । ५० हजार रुपैयाँ सहितको सो सम्मान श्रवणका भाइ सञ्जीव मास्केले ग्रहण गरेका थिए । २०४६ सालमा चलचित्र चिनोको छायांकनमा नारायण नदीमा डुबेका साथीहरूलाई बचाउने क्रममा डुवेर उनको मृत्यु भएको थियो ।

सोही समारोहमा विशेष योगदान सम्मान २०८१ बाट १० जना चलचित्रकर्मी सम्मानित भए । कार्यक्रममा प्रदर्शक नकिम उद्दिन, गायिका देवीका वन्दना, छायांकार दीर्घ गुरुङ, अभिनेता निखिल उप्रेती, अभिनेत्री सुरक्षा पन्त र कलाकारहरू अनुप बराल, परशुराम चौधरी, अन्जु रञ्जितकार, उत्तम केसी, प्रेम सुब्बा विषेश योगदान सम्मानबाट सम्मानित भए । चलचित्र विकास बोर्डका सदस्य सचिव राजेश थापाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डिसीले आफूले गरेको विभिन्न ११ वटा कार्यको चर्चा गरे ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मौलिक चलचित्र निर्माणको लागि सुझाब दिए । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चाँडै चलचित्र ऐन आउने बताए ।