ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ असार
चलचित्र मोहर आगामी साउन २३ बाट रिलिज हुँदैछ । यो चलचित्रको शीर्ष गीतले चर्चा पाएपछि अहिले अर्को नयाँ गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ ।
सोमबार काठमाडौंको जोसेफ स्कुल र कलेजसँग ‘इजुकेशन टाइ अप’ गर्दै गीत रिलिज गरिएको हो । जोसेफ स्कुलबाट एसइइ पास भएका विद्यार्थीहरुको सम्मानमा आयोजित कार्यक्रममा पाँच सय बढी विद्यार्थी र
अभिभावकहरुको उपस्थितीमा गीत सार्वजनिक गरियो । सार्वजनिक गरिएको यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ ।
देउकी प्रथाको कथामा तयार भएको यो फिल्मको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । यो गीतको भिडियोमा भने पलले लामो कपाल पालेका छन् । गीतमा फिल्मकी मुख्य कलाकार मिथिला शर्मा, बाल–कलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ । नायक पल शाह र नायिका वेनिशा हमालले गीत सार्वजनिक कार्यक्रममा मिडियासँग कुरा गर्दै फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिए ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य नायक पल शाह र नायिका बेनिशा हमाललाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा यी दुई कलाकार छमछमी नाचेका छन् । गीतको भिडियोमा पलको इनर्जी गज्जब देखिएको छ । भिडियोमा दुइको नोकझोक पनि देखिन्छ । यसले, फिल्म भित्र पल र बेनिशाको केमेष्ट्री कस्तो छ भन्ने पनि देखाएको छ ।
फिल्म मेकर्स प्रा.लिको व्यारनमा निर्माण भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ । फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ । फिल्मको टिजरले दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ ।