राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा नारायण थापा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ असार

हिजो काठमाडौँमा सम्पन्न राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो अधिवेशन तथा साधारण सभाबाट प्रतिष्ठानको नयाँ कार्यसमिति चयन भएको छ । प्रतिष्ठानको अध्यक्षमा निर्विरोध रुपमा गायक नारायण थापा निर्वाचित भएका छन् । थापासँगै प्रतिष्ठानमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा संगीतकार दीपक शर्मा, उपाध्यक्षमा गायिका सुजाता केसी, महासचिव मोडल सनम कठायत, सचिव गायिका रिता केसी, महिला सचिवमा गायिका बेनिश पौडेल र कोषाध्यक्षमा मोडल प्रतीक्षा काफ्ले चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरूमा वीरेन्द्र सिंह भाट, मनोज परियार, गीता पाण्डे, सुभाष तिम्सिना, प्रमोद डिजी, कोपिला सिवाकोटी, पार्वती बम, प्रज्वल राज भट्ट चयन भएका छन् ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष राजेन्द्र बजगाईँले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराउँदै आफ्नो कार्यभार सुम्पिए । शनिबारको सो साधारण सभामा अग्रज गीतकार राजेन्द्र थापा, संगीतकार राजु सिंह, बसन्त सापकोटा, गीतकार डब्बु क्षत्रीलगायतले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै आफ्ना भनाई राखेका थिए ।

शनिवार अबेर साँझ नयाँ कार्यसमिति चयन भएपछि प्रतिष्ठानका संस्थापक अध्यक्ष राजेन्द्र बजगाईले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराउँदै कार्यभार सुम्पेका थिए ।

शपथग्रहण समारोहलाई सम्बोधन गर्दै नव निर्वाचित अध्यक्ष नारायण बहादुर थापाले स्रष्टाहरूको हक हितका लागि स्थापित प्रतिष्ठानमा रहेर विधान बमोजिम काम गर्ने प्रतिबद्धता जाहेर गरे । स्रष्टाहरूले उचित रोयल्टी नपाएको अवस्थामा त्यसतर्फ आफूहरूले विशेष पहल गर्ने पनि थापाले बताए ।