यसरी गर्न सकिन्छ ट्रेडिस्नल लेहेंगो चोलीको फेशन


 

काठमाडौं, २६ फागुन

खिरिलो र छरितो शरीरकी बैंकर एलिना मानन्धर पारिवारिक बिवाह भोजमा सधैँ ब्राइट कलरका लेहेंगाहरुमा सजिने गर्छिन् । लेहेंगाको प्रयोगले फिगर छाटिएको चुस्त देखिनुका साथै पारम्पारिक (ट्रेडिश्नल) पहिरन पनि भएकोले आफु लेहेंगा चोली प्रति आकर्षित भएको उनले बताईन, ‘बिवाह भोजकोलागि स्वीकार्य यो पहिरन लगाउँदा शालिन, घरानीया एवम् ट्रेडीशनल देखिन्छ । यसले आफ्नो शरीर अनुसार सुहाएको जस्तो लागेकोले मेरो पहिलो रोचाई नै लेहेंगा चोली हुने गरेको हो ।’ एलिनाले भनिन् ।

 

अभिनेत्री क्षितिजा शाक्यलाई पनि लेहेंगा चोली मन पर्छ । उनी लेहेंगा चोली भनेपछि भुतुक्कै हुने गर्छिन्,‘मलाई पूर्ण ह्यान्ड वर्क गरिएको ब्राइट कलरका लेहेंगाहरु असाध्यै मनपर्छ’ उनले भनिन् । क्षितिजासँग यस्ता लेहेंगाहरुको राम्रै सँकलन छ । यस्ता सँग्रहलाई उनी विवाह र भोज भतेर बाहेक म्युजिक भिडियो र फोटोशुटमा बढी प्रयोग गर्ने गर्छिन् ।

 

मोडेल सरितासिह थारु फ्रान्समा नै बसे पनि नेपालीहरुको जमघट पार्टीमा लेहेंगा चोली लगाउने गर्छिन् । नेपाल आउँदा उनी जहिले पनि बुटिकमा विभिन्न डिजाइनका लेहेंगाहरु बनाएर लाने गर्छिन् । कारण बारे उनले भनिन्,‘विदेशमा यसको सान नै छुट्टै हुन्छ । मलाई लेहेंगाको चोली भने फिटिंग र बढी ओपन भएको मनपर्छ ।’

सिमित रुपमा लगाइने लेहेंगा चोली हाल आएर सबैवर्गका महिलाहरुले प्रयोग गर्न थालेका छन् । परम्परागत रुपमा स्वीकार्य यो पहिरन साडी, कुर्ता प्रयोग गर्ने महिलाहरु माझ बढी लोकप्रिय हुँदै गइरहेको पाइएको छ ।

मुगल साम्राज्यहरुले भारतमा स्कर्ट र ब्लाउजको अनौठो मिश्रणको रुपमा भित्राएको लेहेंगा चोलीले हाल आएर परम्परागत पहिरनसँगै फेशनको रुप लिएको छ । यसलाई नव दुलहीहरुले समेत बिवाह उत्सवमा साडीको सट्टा प्रयोग गर्न थालिसकेका छन् ्रलेहेंगा सबै उमेरका एवम् सबै शारीरिक बनौट भएका महिलाहरुलाई सुहाउने पहिरन हो । यो परम्परागत डिजाइनमा इम्ब्रोयडरी गरिएको पनि पाइन्छ्र । भारतीय राजघरानामा लेहेंगा सुनचांदीको धागो बाट बनेको र बहुमुल्य जवाहरात जडिएको पनि पाइन्छ।

 

 

सुरुका दिनहरुमा लेहेंगा भनेको एक टुक्रा कपडा जसको एकछेउ कम्मरमा बाधिएको र अर्को छेउ खुकुलो छोडिएको हुन्थ्यो । जसमा मेटल ग्रीडलले कपडालाई कम्मरमा कस्सिएको हुन्थ्यो । लेहेंगाको लोकप्रियतासँगै यसको रुपमा पनि परिवर्तन हुँदै आयो । बिस्तारै साँघुरो चौडालाई प्लिट्स राखेर चौडा बनाइयो । जसको कारणले गर्दा लेहेंगा लगाएर हिडदा सजिलो हुने भयो । लेहेंगाको मेटल ग्रीडलको सट्टामा बिस्तारै कपडाको नेफा बनाएर लामो इँजार लगाइने चलन सुरु भयो ।

लेहेंगा प्रायजसो सांढे दुइ यार्डको लम्बाई र साढे एक यार्डको चौडाईमा तयार पारिन्छ । पातलो कपडाबाट तयार पारिएको यो पहिरनलाई आकर्षक बनाउन सुनौला लेश र टशलहरु जस्ता सामग्री पनि जडित गरिएको हुन्छ । लेहेंगासँग चोली लगाइने भएकोले सुरुमा नै म्याचिंग गरेर नै तयार पारिएको हुन्छ । जुन नाइटो भन्दा माथि लगाइने गरिन्छ ।

लेहेंगालाई अझ बढी राम्रो, आकर्षक बनाउन दुपट्टा लगाउने चलन छ । यस्तो दुपट्टा शिल्क, लेनिन, शिफन एवम् क्रेप जस्ता कच्चा पदार्थबाट बनेको हुन्छ । हाल लेहेंगाले पहिले देखि नै चली आएको चलन अनुसार बिशेष उत्सवमा लगाउने साडीको चलनलाई पनि प्रतिस्थापन गर्न थालिसकेको छ ।

लेहेंगा विभिन्न आकर्षक रङहरुमा पाइन्छ । बिशेषगरि रातो, सुन्तले रङ, पहँलो, गुलाबी रङहरु बढी लोकप्रिय रहेको छ । यो पहिरन दक्षिण एशियाका महिलाहरुले आफ्नो संस्कृतिको पहिचानको लागि विभिन्न उत्सवहरुमा औपचारिक पाहिरन रुपमा प्रयोग गर्दै आएका छन् । लेहेंगा दक्षिण एशियामा लोकप्रिय एवम् यस क्षेत्रका महिलाहरुले रुचाएको पहिरन पनि हो । लेहेंगालाई घाघंरा चोली पनि भनिन्छ।

 

लेहेंगा मुख्यतय चार किसिमको डिजाइनमा तयार पारिएको हुन्छ

– एकट डिजाइन लेहेंगा
– स्ट्रेट कट डिजाइन
– अम्रेला कट डिजाइन लेहेंगा
– फिसकट डिजाइनले लेहेंगा

लेहेंगाहरु चाड पर्व र अबसर अनुसार प्रयोग गरिन्छ । सोही अनुसारको डिजाईनमा यसलाई लागि तयार पारिएको हुन्छ । विवाहको लागि तयार गरिएको ब्राईडल लेहँगा धेरै जसो इम्ब्रोयडरी गरिएको हुन्छ । ब्राइडल लेहेंगाहरुमा प्राय मरुण, रातो एवम् गोल्डेन जस्ता परम्परागतरुपमै बेहुलीलाई लगाउँदै आएको रङमा तयार पारिन्छ । यस्तो लेहेंगाहरु बिशेषगरि क्रेप, नेट एवम् स्याटन जस्ता कच्च पदार्थबाट तयार पारिएको हुन्छ । त्यो भन्दा अझ बढी राम्रो कच्चा पदार्थको रुपमा शिल्क र ब्रोकेटलाई लिन सकिन्छ । ब्रोकेट बाक्लो हुने भएकोले यसको प्रयोगले घरानिया एवम् खानदानी देखिन्छ । यसमा बाक्ले र पूर्ण इम्ब्रोडयडरी गर्न पनि सकिन्छ । शिल्क आरामदायी एव जुनसुकै मौसममा पनि अनुकुल हुन्छ । शिल्क विभिन्न रङमा टाई र डाई गर्न सकिने भएकोले लेहेंगाको लागि शिल्क बढी उपयुक्त पदार्ग मानिन्छ ।

 

प्रस्तुती–   जयन सुब्बा मानन्धर
मोडेलहरु– नेन्सी गौतम
प्रगति अधिकारी
तस्बिर–   कमल श्रेष्ठ
कुबेर तामाङ