नाट्य संगीतबाट ८ स्रस्टा पुरस्कृत, एक स्रस्टा सम्मानित


सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ असार

२०८१ सालको नेपाल संगीत तथा नाट्य दीर्घ साधना सम्मानबाट बरिष्ट गायक गायक दीप श्रेष्ठ सम्मानित भएका छन् । बुधवार राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुरस्कार समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पुरस्कृत गरेका हुन् । साँढे चार दशकदेखि संगीत सक्रिय उनलाई २ लाख १ रुपैयाँ र ताम्र पत्रसहित यो सम्मानबाट सम्मानित गरिएको हो ।

नेपाली गीत संगीत, नृत्य एवम् नाट्य क्षेत्रमा लामो समयदेखि योगदान दिँएको भन्दै श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरियो । यस्तै सोही समारोहमा ८ जना कलाकर्मीलाई ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१’बाट पुरस्कृत गरियो ।

पुरस्कार समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनले नेपाली गीत संगीत, नृत्य एवम् नाट्य क्षेत्रमा यस प्रतिष्ठानले विभिन्न उल्लेख्य कार्यहरु गर्दै आएको बताए । उनले प्रतिष्ठानको बजेट आगामी दिनमा बढाउनु पर्ने भनाई राखे ।

पुरस्कार समारोहमा पुरस्कृत स्रस्टाहरुको बारेमा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यहरुले जानकारी गराएका थिए । नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार सोही समारोहमा आठ जना स्रष्टाहरूलाई प्रदान गरियो । सो समारोहमा २०८१ सालको परम्परागत तथा शास्त्रीय संगीत विधाको यो पुरस्कार शास्त्रीय संगीतकार कुशेश्वर राईलाई प्रदान गरियो । यही पुरस्कार बाद्यबादन विधाबाट अग्रज बाद्यबादक राजु अग्रवाललाई प्रदान गरियो । आ आफ्नो क्षेत्रमा यी दुवैले चार दशक भन्दा लामो समयदेखि योगदान दिँदै आएकाले पुरस्कृत गरिएको पनि कार्यक्रममा जनाइयो ।

समारोहमा रंगमञ्च तर्फको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार रंगकर्मी हरिबहादुर थापालाई प्रदान गरियो । चार दशक भन्दा लामो समयदेखि रंगमञ्चमा पु¥याएको योगदानको कदर स्वरूप उनलाई यो पुरस्कार प्रदान गरिएको हो । यस्तै नाट्य तर्फको यो पुरस्कार कलाकार वेदकुमारी न्यौपानेलाई प्रदान गरियो ।

यसै गरी संगीत तर्फको यो पुरस्कार लोक गायनबाट अग्रज गायक नारायण रायमाझीलाई र आधुनिक गायनबाट यो पुरस्कार गायिक कुन्ती मोक्तानलाई प्रदान गरियो । यी दुवैले नेपाली संगीत क्षेत्रमा चार दशक भन्दा लामो योगदान पु¥याएको कारण पुरस्कृत गरिएको कार्यक्रममा जानकारी गराइयो ।

नृत्य तर्फ २०८१ सालको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार अग्रज नृत्य निर्देशक भुवनदास श्रेष्ठलाई प्रदान गरियो । नृत्य तर्फ नै नृत्य खोज तथा अनुसन्धान विधाको यो पुरस्कार नृत्य अनुसन्धानकर्ता एवम् कलाकार कृष्णप्रसाद पौडेललाई प्रदान गरियो । राष्ट्रपति पौडेलद्वारा प्रदान गरिएको यो सबै पुरस्कारको राशि जनही १ लाख १ रुपैयाँ थियो ।

सो प्रतिष्ठानकी कुलपति निशा शर्माले पुरस्कार छनौट टोली सहित सबैलाई धन्यवाद दिँदै पुरस्कार एवम् दीर्घ साधना सम्मान छनौटको प्रकृयाबारे जानकारी गराइन् । उनले नेपाली गीत संगीत तथा नाट्य, नृत्य क्षेत्रमा प्रतिष्ठानले हरेक वर्ष फरक फरक कार्यहरु गर्दै आएको बताईन् ।