ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असार
नेपाली चलचित्र ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ आज काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री नीति शाहले नृत्य गरेका छन् । गीतको भिडियोमा पल र नीतिको प्रेम भाव प्रस्तुत गरिएको छ ।
साउनको २३ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्र देउकी प्रथामा केन्द्रित रहेको यसको निर्माण पक्षले गीत सार्वजनिक कार्यक्रममा जानकारी गरायो । यो रोमान्टिक गीत शरद हुमागाँई र विशाखा शाहीको स्वरमा रहेको छ । प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीले संगीत सृजना गरेका हुन् ।
चुम्बन जंग शाही फिल्मका निर्माता हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा दिपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ । यो गीतलाई भने रामजीले कोरियोग्राफी गरेका हुन् ।
रिच इन्टरटेन्मेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेन्मेन्टले यो फिल्मको वितरण गर्नेछन् । समिर मियाको भीएफएक्स रहेको फिल्ममा सत्यम रानाको सीजीआई, लक्ष्मण राज पौडेलको प्रोडक्सन डिजाइन छ । रोशन जंग शाही फिल्मका लाइन प्रोड्यूसर हुन् ।
गीत रिलिज कार्यक्रममा बोल्दै नायक पल शाहले यो गीतको भिडियो छायांकनका क्रममा निकै नै दुःख भएपनि गीत तयार भएर आएपछि खुशी लागेको बताए । आफूले पहिलो पटक कुनै गीतको भिडियोमा काम गर्दा ‘म सक्दिनँ है’ भनेको पनि पल शाहले संझिए ।
नायिका नीति शाहले पनि गीतको छायांकनका क्रममा सबैको मिहिनेत परेको भन्दै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको सुनाइन् ।
फिल्मका निर्देशक ओम प्रतिकले फिल्मले देउकी प्रथासँगै अन्य थुप्रै सस्पेन्स कुराहरुलाई समेत देखाएको भन्दै दर्शकले केही फरक कथाको फिल्म हेर्न पाउने बताए । निर्माता चुम्बन जंग शाहीले आफू सानैबाट फिल्मी माहोलमा हुर्किएको भन्दै त्यही कुराले तानेर फिल्म निर्माण गरेको सुनाए ।