कृषाको निर्देशनमा बन्ने ‘जहाजैमा’ को छायांकन जापानमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ जेठ

पछिल्लो चलचित्र पिताम्बरको ५१ दिनको समारोहमा पिताम्बर २ घोषणा गरेकी निर्देशक कृषा चौलागाइले त्यो भन्दा पहिला अर्को चलचित्र जहाजैमा निर्देशन गर्ने भएकी छिन् । केही दिन अगाडि कृषाले जापानमा पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्म साइन गरेकी थिइन् । सोही चलचित्रको नाम यतिबेला सार्वजनिक गरिएको हो । यसको नाम ‘जहाजैमा’ राखिएको छ ।

जापानमा फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको व्यानरमा यो फिल्म निर्माण गर्न लागेको हो । फिल्ममा नेपाल र जापानका कलाकारहरुको अभिनय रहनेछ ।

एक महिनासम्म फिल्मको छायांकन जापानमा नै हुने बताइएको छ । कृषा हाल यो फिल्मको पूर्व तयारीमा जुटेकी छिन् ।  यसैबिच जहाजैमाको सार्वजनिक थीम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा भन्छ ।

उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको यो फिल्मका कलाकारहरुको लाइनअप सार्वजनिक गरिएको छैन । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ ।

सन् २०२६ मा रिलिज गर्ने उद्देश्य राखिएको यो फिल्मलाई भदौबाट छायांकन गरिनेछ । फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने पक्का भइसकेको छ ।
फिल्म ‘पिताम्बर’ले चर्चा पाएपछि कृषा २ वटा प्रोजेक्टमा लागिपरेकी छिन् । उनले ‘जहाजैमा’पछि ‘पिताम्बर २’ बनाउने घोषणा गरिसकेकी छिन् ।