’महाभोज’को पोखरामा प्रिमियर, दर्शकले गरे प्रशंसा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ जेठ

दिनेश राउतको निर्देशनमा बनेको नेपाली चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार बेलुका प्रिभ्यु प्रिमियर शो आयोजना गरियो । काठमाडौँ पछि यो निर्माण पक्षले आयोजना गरेको दोस्रो प्रिमियर हो ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको प्रमुख अभिनय रहेको छ ।

प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको उपस्थिति थियो ।

यस्तै समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, केही सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा पत्रकारहरूले दर्शकको रूपमा चलचित्र हेरेका थिए । चलचित्र हेरेपश्चात् दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनय को व्यापक प्रशंसा गरेका छन् । तर, प्रशंसासँगै दर्शकहरूमा एक प्रकारको आक्रोश पनि देखिएको थियो ।

चलचित्रको परिवेशमा पूर्ण रूपमा भिजेका दर्शकहरूले चर्को स्वरमा आक्रोश पोख्दै ‘महाभोज’ ले विगतमा ‘आगो’ चलचित्रले जस्तै विद्रोह जन्माउन सक्ने बताए । उनीहरूले यो चलचित्रमा सत्ताधारीहरूलाई नै तलमाथि गराउन सक्ने शक्ति रहेको विश्वास व्यक्त गरे । केही दर्शकले यदि कसैको दबाबमा चलचित्रका दृश्यहरू काँटछाँट भएमा त्यसो गर्नेको विरुद्धमा आफूहरू उभिने चेतावनीसमेत दिए ।

चलचित्र महाभोजले सहकारी पीडितको कथालाई विस्तृतमा प्रस्तुत गरेको प्रतिक्रिया काठमाडौंमा केही दिनअघि आयोजित प्रिभ्यु शोबाट पनि प्राप्त भएको थियो, जहाँ दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए । साथै, दर्शकले यो चलचित्र मनोरञ्जक रहेको समेत बताए ।

चलचित्र महाभोज यही शुक्रवार जेठ ३० गते देशभर प्रदर्शनमा आउँदै छ । पोखराको सफल प्रिमियरपश्चात् यसको प्रिमियर बुटवल, विराटनगर र धरानमा पनि क्रमशः आयोजना हुँदैछ ।