राष्ट्रिय लोकदोहोरी गीत आइडल सुरु, प्रतिस्पर्धामा ६१ समूह


सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ जेठ

सांस्कृतिक समाज नेपालको आयोजनामा काठमाडौँको आयोजनामा आज सोमबारबाट ‘राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२’ सुरु भएको छ । यो सोमबारबाट काठमाडौँमा सुरु भएको छ । यो प्रतियोगितामा सातै प्रदेशका दोहोरी गायक गायिकाहरू सहभागी छन् ।

प्रतियोगिताका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सो कार्यक्रमको उद्घाटन आज मध्यान्न भृकुटी मण्डप स्थित पुलिस क्लबमा उद्घाटन गरे । यो प्रतियोगिता पर्सी बुधबार २८ गतेसम्म सोही स्थानमा जारी रहने छ ।

प्रतियोगितामा सहयोग गर्ने सहित विभिन्न श्रष्टाहरुलाई सम्मान एवम् कदरपत्र प्रदान गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मैनालीले नेपालको पहिचान भनेकै हाम्रो मौलिक लोक संस्कृति भएको बताए । उनले यस्ता मौलिक लोक संस्कृतिको जगर्नेमा सबैले योगदान दिनु पर्ने भनाई सो कार्यक्रममा राखे ।

प्रतियोगितामा सहभागीहरुलाई अग्रिम सफलताको शुभकामना दिँदै उनले सांस्कृतिक समाज नेपालले लोक दोहोरीको प्रवर्धनको लागि निकै ठुलो प्रतियोगिता गरेको बताए ।

राष्ट्रिय लोकदोहोरी गीत आइडलका संयोजक एवम् बरिष्ट लोक गायक चन्द्र शर्माले उद्घाटन समारोहमा सबैलाई स्वागत गर्दै यो आइडल आयोजना गर्नुको कारणबारे प्रकाश पारे । कार्यक्रम संयोजक शर्माले यो प्रतियोगितामा मुलुकका सात वटै प्रदेशको कलाकारहरूको सहभागिता रहेको बताए । यस पटक काठमाडौँसहित, पोखरा, तनहुँ, लुम्बिनी, दाङ, सुर्खेत, सहित विभिन्न सहरका दोहोरी साँझबाट पनि कलाकारहरू प्रतियोगितामा सहभागी भएका पनि उनले जानकारी गराए ।

यस्तै सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थिले संस्थाको उदेश्यबारे प्रकाश पार्दै प्रतियोगिताको बारेमा जानकारी गराए । उनले र प्रतियोगीले दोहोरी साँझसँग आबद्ध भएर मात्र भाग लिने पाउने नियम रहेको र सोही नियम अनुसार उनीहरुले सहभागिता जनाएको बताए । सहभागी तथा सहयोगी सबैलाई उनले उद्घाटन समारोहमा धन्यबाद ज्ञापन गरे ।

राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ का व्यवस्थापक अमृत खातीले उद्घाटन समारोहलाई सञ्चालन गर्दै यो प्रतियोगितामा उत्कृष्ट हुने विजेताले एउटा मोटरसाइकल र ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त जानकारी गराए । यस्तै दोस्रो हुने एउटा स्कुटर सहित २२ हजार २ सय २२ रुपैंया पुरस्कार पाउने पनि उनले बताए । यस्तै यस दोहोरी आइडलका उत्कृष्ट प्रतियोगीहरूलाई यसै वर्ष काठमाडौँमा आयोजना हुने ‘दोहोरी गीत प्रतियोगिता प्रिमियर लिग–२०८२’को पहिलो चरणको प्रतिस्पर्धामा सहभागी गराउने योजना रहेको पनि अमृतले बताए ।

उद्घाटन समारोहपछि प्रतियोगीहरु बिच आजै दोहोरी गायन प्रतिस्पर्धा सुरु भयो । आजबाट भोली बोलुकासम्म प्रतियोगितामा गायन प्रतिस्पर्धा भएपछि प्रतियोगीबाट उत्कृष्ट १६ पुरुष र उत्कृष्ट १६ महिला चयन हुने छन् । यी १६ पुरुष र १६ महिला प्रतियोगीबिच बुधबार दिन भर प्रतिस्पर्धा भएपछि बुधबार बेलुका नै बिजेता घोषणा गरिने कार्यक्रम संयोजक चन्द्र शर्माले ब्युटी न्युज नेपाललाई जानकारी गराए ।