चलचित्र मन विनाको धनको छायांकन सकियो


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ जेठ

चलचित्र ‘मन बिनाको धन’को छायांकन सम्पन्न भएको छ । यो चलचित्रको शिर्ष गीत मन विनाको धनको हिजो महेन्द्र पुलिसमा छायांकन गरेसँगै चलचित्रको इन्ड क्लाप भएको यसका निर्देशक टंक बुढाथोकीले जानकारी गराए ।

गत फागुनको पहिलो साता केही छायांकन गरिएको यो चलचित्रको बाँकी छायांकन यतिबेला सम्पन्न गरिएको हो । कुल २८ दिनमा यसको छायांकन सकिएको पनि निर्देशक बुढाथोकीले जानकारी गराएका छन् । यो चलचित्रको काठमाडौं, पोखरा, मुस्ताङमा छायांकन गरिएको हो । चलचित्रलाई आगामी तिहारमा रिलिज गर्ने लक्ष्य निर्देशकको रहेको छ ।

यो चलचित्रमा बाल गायक अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रविन्द्र झा, रमाथपलिया, भोला सापकोटा, टंक बुढाथोकी एआर बुढाथोकीलगायतको अभिनय रहेको छ ।

अशोक दर्जीले गाएको गीत मन विनाको धन…बाट यो चलचित्रको शिर्षक जुराईएको हो । बाल गायक अशोक दर्जीकै संघर्षमा यो चलचित्रको कथासार केन्द्रित छ । सोही कारण अशोक दर्जी यो चलचित्रको शीर्ष भूमिकामा छन् । टंकले नै कथा लेखेको यो चलचित्रमा पटकथा र संवाद शिवम अधिकारीको रहेको छ ।

अशोकलाई टंक बुढाथोकीले झापाबाट काठमाडौँ लाएर गायक बनाएका हुन् । अशोकको स्वरमा सात वर्षअघि बजारमा आएको गीत मन बिनाको धन ठूलो कि धनबिनाको मन? त्यतिबेला लोकप्रिय भएको थियो । यो गीतबाट चर्चा पाएका अशोक अहिले कक्षा ९ मा अध्ययनरत छन् । उनी एसइइ उतिर्ण गरेर पुन गायनमा फर्कने योजनामा रहेका छन् ।