ब्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा चलचित्र पत्रकार संघका उपाध्यक्ष एवम् रंग पत्रकार कुबेर गिरी र चलचित्र कलाकार एवम् निर्देशक भिमा मैनाली नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गिरी र मैनालीलाई सदस्य नियुक्ती गरिएको हो ।
गिरी र मैनाली दुबैलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय गिरी बिभिन्न साप्ताहिक, मासिक, समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनको चलचित्र समाचार हुँदै पछिल्लो एक दशकदेखि रातोपाटी डटकममा कार्यरत रहेका छन् ।नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धि कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरीले केही म्युजिक भिडियोको समेत निर्देशन गरेका छन् ।
यस्तै बिगत दुई दशक भन्दा लामो समय देखि चलचित्र क्षेत्रमा सक्रिय भिमा मैनाली ओस्कार कलेज अफ फिल्म स्टडिजबाट चलचित्र लेखन निर्देशनमा स्नातक हुन् । थुप्रै लघु चलचित्र एवम् बृत्तचित्र निर्देशन गरेकी उनले बृत्तचित्र काँचो बायुबाट १२ औं संस्करणको नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४ मा उत्कृष्ट बृत्तचित्र एवम् निर्देशकको अवार्ड समेत जितेकी थिईन् । उनले करिब चार दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । यसअघि सेन्सर बोर्डको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भइसकेका छन् ।